११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा

भक्तपुर, १ फागुन । स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आईसीयू सेवा आइतबारदेखि सुरु हुने भएको छ।

अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहेपनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआईसीयू सञ्चालनमा ल्याउन सफल भएको बताइन्। प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आईसीयू नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ। २० शय्याको एनआईसीयू सञ्चालनको तयारी पूरा भएको छु, उनले भनिन्।

आइतबारदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दामुनिकाका लागि १० शय्याको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउने गौतमले जानकारी दिइन्। आवश्यक सबै तयारी पूरा गरेर जनशक्तिसमेत परिचालन गरिएको छ।

तीन वर्ष अगाडिसम्म आईसीयू नै नभएको भक्तपुर अस्पतालमा मेसु डा गौतम आएपछि अस्पतालको मुहार फेरिएको छ। अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटरसहितको १६ आईसीयू सञ्चालनमा छ।

मेसु डा गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आईसियू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आईसीयू अरु बिरामीका लागि प्रयोग भइरहेको छ।

आइतबारदेखि बच्चाको २० शय्याको आईसीयू सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आईसीयू सञ्चालन हुनेछ।

नेपालमा कोरोनाको पहिलो लहर सुरु भएपछि भक्तपुर अस्पतालमा डा गौतमले ६ शय्याको आईसीयू सञ्चालनमा ल्याएर कोभिडका बिरामीको उपचार सुरु गरेकी थिइन्। अस्पतालले अक्सिजनसमेत उत्पादन सुरु गरेको छ।

अस्पतालले सञ्चालनमा ल्याएको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन सुरु गर्नेछ।

भक्तपुर अस्पतालको सबै वार्डमा अक्सिजन फाइप जडान गरी वितरण सुरु गरेसँगै सिलिण्डर घिसार्दै बेडमा लैजानुपर्ने समस्याको पनि अन्त्य भएको छ। कोरोना भाइरस संक्रमणको महामारीले अल्जाइमरका रोगी बढेपछि अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ।

अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको हो। कोरोना संक्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम बढ्दै गएपछि अस्पतालमा अल्जाइमरको सेवासमेत सञ्चालनमा ल्याइएको हो।

तीन वर्ष अगाडिसम्म रेफर सेन्टरको रुपमा परिचित यस अस्पतालमा अस्पतालमा दैनिक ८० देखि १५० जनासम्म बिरामी आउने गरेकामा अस्पतालको सेवामा सुधार भएपछि दैनिक ७५० देखि ८०० बिरामी आउन थालेका छन्।

अस्पतालमा बिरामीको बढ्दो चाप र सेवा विस्तारका कारण भवन अभाव भइरहेको अवस्थामा साझा औषधि लिमिटेडले ओगटेको भवन नछाड्दा नयाँ निर्माण गर्न सकिएको छैन। साझालाई भवन छाड्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको अस्पतालले जनाएको छ। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *