नेपालमा लक्षित जनसंख्याको ७० प्रतिशतले लाए कोभिडबिरुद्धको पूर्ण खोप, डब्लुएचओले दियो बधाई

तस्बिर : डब्लुएचओ नेपाल

काठमाडौँ, २० माघ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाउन सफल भएको भन्दै नेपाललाई बधाई दिएको छ । नेपालस्थित डब्लुएचओको कार्यालयले आज विज्ञप्ती जारी गर्दै १८ वर्ष माथिका जनसंख्याको ७० प्रतिशत नागरिकले पूर्ण खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ ।

‘७० प्रतिशत जनसंख्या (१८ वर्ष माथिका)लाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । कोभिडविरुद्धको खोप कार्यक्रममा कोषेढुंगा पार गर्न सक्नुमा सरकार र यसका पार्टनरहरुको संयुक्त प्रयास थियो । र, यसले हामीलाई एक आपसमा मिलेर काम गर्ने हो भने जे पनि सम्भव छ भन्ने सन्देश समेत दिएको छ,’ डब्लुएचओ नेपालले उल्लेख गरेको छ ।

सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण खोप लगाउने घोषणा गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म १८ वर्ष माथिका १ करोड ९९ लाख २२ हजार १६४ जनामध्ये कम्तीमा एक मात्रा खोप लगाउने ८६.९ प्रतिशत र पूर्ण मात्रा लगाउने ७०.७ प्रतिशत पुगेको छ ।

यस्तै कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ६८.४ प्रतिशतले कम्तीमा एक मात्रा र ५१.१ प्रतिशतले पूर्ण मात्रा लगाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *