‘तपाईँले खाने स्वादिलो खाना ट्रान्सफ्याटयुक्त त छैन् ?’

काठमाडौँ, ८ माघ । ‘होटल, रेष्टुराँ वा हाम्रै भान्सामा पाक्ने स्वादिलो खाना हाम्रा लागि स्वस्थकर भने नहुँन सक्छ । किनकी ती खानामा शरीरका लागि अति खराब चिल्लो पदार्थ (ट्रान्स फ्याट) हुन सक्छ । कोलेस्टेरोल बढाउने, हृदयघातको जोखिम बढाउने एउटा प्रमुख कारक सुर्तीजन्य पदार्थ जस्तै ट्रान्स फ्याट पनि हो । त्यसैले यसबारेमा थाहा पाउन जरुरी छ । पकाउनेले पनि खानेले पनि,’ शुक्रबार राजधानीमा भएको ‘ट्रान्स फ्याट: नेपालमा स्वास्थ्य जोखिम, नीति र कानुनी प्रावधान’ विषयक बहुपक्षीय पैरवी बैठकलाई अघि बढाउने क्रममा आयोजक संस्था नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ट्रान्सफ्याट उन्मुलन गर्न अघि बढाएको परियोजनाका निर्देशक एवं कार्डियाक सर्जन डा. प्रेमराज बैद्यले भने ।

सो क्रममा उनले ट्रान्सफ्याटका प्रकार, यसका असर सहित विश्वमा पाँच लाख बढीले ज्याउन गुमाउने तथ्यांक समेत सुनाए । ‘तर, यी मृत्यु र असरहरुलाई रोक्न सकिन्छ, त्यसैले त विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा बजारमा उपलव्ध हुने खाद्य बस्तुलाई औद्योगिक रुपमा उत्पादन गरिएको ट्रान्स फ्याटमुक्त गर्ने लक्ष्य तय गरेको छ । सन् २००३ मा डेनमार्कले सुरु गरेको ट्रान्स फ्याट मुक्त खाद्यपदार्थको अभियानलाई अहिले विश्वका ४० बढी देशले लागू गर्दैछन् । पछिल्लो समय भारत पनि यसमा अघि बढेको छ । अब नेपालले पनि यसलाई गम्भीरताका साथ अघि बढाउन पर्छ,’ उनले थपे ।

कार्यक्रममा जनस्वास्थ्यविद डा अरुणा उप्रेतीले बजारिया खानेकुरामा अति ट्रान्स फ्याट रहेको विभिन्न अनुसन्धानले बताएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइन । उनले यसका लागि जनचेतना बढाउने र कानूनी दायराबाट समेत नियन्त्रण गर्नुपर्ने जानकारी दिईन ।

‘बच्चाहरुले बढी खाने गरेको चाउचाउ, लेज, कुरकुरे जस्ता प्याकेटका खानेकुराहरुमा आवश्यकता भन्दा ३७ देखि २०० गुणाले सोडियमको मात्रा बढी भएको पाइएको छ । ट्रान्स फ्याटको कुरा गर्दा समोसा, नमकिन देखि तेलमा पकाइने धेरै खानेकुराहरुमा तोकिएको भन्दा कैयु गुणा बढी छ । आधुनिकतासंगै बढेको अस्वस्थकर खानपानले भावी पुस्ता नै अस्वस्थकर हुने खतरा बढेको छ,’ उनले भनिन् ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अस्वस्थकर खाद्य पदार्थ बहिस्कार गर्नुपर्ने बताए । उनले विभागको एकल प्रयासले मात्रै यसलाई नियन्त्रण गर्न नसकिने भन्दै जनचेतना अभिबृद्धि गर्न र व्यक्ति स्वयंले यसप्रति ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपाने, रेवानका अध्यक्ष अरनिको राजभण्डारी, सोल्टी होलटका पुराना सेफ गोविन्द नरसिंह केसी, नवराज उपाध्यायले खाद्य बस्तुमा हुने ट्रान्स फ्याटका विषय र यसलाई नियन्त्रण गर्ने उपायकाबारेमा धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण फाउन्डेशनका आमोद प्याकुरेलले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *