विद्यालय नर्सलाई कोभिड उपचारमा खटाईने

काठमाडौँ, ७ माघ । बागमती प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमका लागि नियुक्त गरेको ३०० नर्सलाई कोरोना संक्रमितहरुको उपचारमा खटाउने भएको छ ।

मन्त्रालयले १३ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै विद्यालयमा खटिएका नर्सहरुलाई आवश्यकता अनुसार अस्पताल र पालिकासंग समन्वय गरेर खटाउन भनेको हो ।

स्वास्थ्य मन्त्रालय बागमतीका प्रवक्ता बसन्त अधिकारीले कोरोना संक्रमण बढ्दा जनशक्तिको अभाव हुन थालेपछि नर्सहरुलाई परिचालन गर्न लागिएको जानकारी दिए ।

मन्त्रालयले आवश्यकता अनुसार जिल्ला अस्पताल वा स्वास्थ्य केन्द्रमा परिचालनका लागि स्वास्थ्य कार्यालयलाई पत्र पठाइएको छ ।

उनले भने, ‘विद्यालय नर्सिङ कार्यक्रममा प्रति स्थानिय तह ३ जना नर्स परिचालन गरिएको छ, अब उनीहरुलाई पनि कोभिड संक्रमण नियन्त्रणमा परिचालन गर्न परिपत्र भइसकेको छ ।’

‘स्वास्थ्यकर्मीलाई विदा नदिनु’
यसैबीच कोरोनाको बढ्दो संक्रमणलाई कारण देखाउँदै बागमती प्रदेशले मातहतका सबै स्वास्थ्य सम्वन्धी निकायमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विदा नदिने निर्णय गरेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु महामारी रोकथाम, नियन्त्रण, निदान र उपचारमा खटिनुपर्ने भएकोले आफू संक्रमित भएको अवस्था तथा अत्यावश्यक परिस्थितिमा बाहेक विदा नलिन र नदिन मातहतका कार्यलयलाई निर्देशन दिईएको स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *