कोभिडविरुद्धको खोपका लागि चीनले दियो २० लाख सिरिन्ज

काठमाडौँ, ६ माघ । कोभिडविरुद्धको खोप लगाउन चीनले २० लाख परिमाण सिरिन्ज (सुई) उपलव्ध गराएको छ । नेपालस्थित चिनियाँ दुतावासको समन्वयमा चीन सरकारले नेपाललाई सो परिमाणमा सिरिन्ज उपलव्ध गराएको हो ।

सहयोग स्वरुप उपलव्ध गराउने घोषणा गरिएको सिरिन्जमध्ये ५० प्रतिशत अर्थात १० लाख परिमाण बुधबार नै रसुवाको केरुङ नाका हुँदै नेपाल छिरिसकेको छ । बाँकी १० लाख आज छिर्ने स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बताए ।

उनले प्राप्त सिरिन्ज ०.५ एमएलको नर्मल साइजको भएको स्पष्ट पारे । ‘यो सिरिन्ज नर्मल सिरिन्ज हो । फाइजर बाहेक कोभिडविरुद्धको हरेक खोपका लागि प्रयोग गर्न मिल्छ,’ चौरसियाले भने ।

यसअघि चीनले नेपाललाई पटक पटक ठूलो परिमाणमा कोभिडविरुद्धको खोप, सिरिन्ज तथा अत्यावश्यक औषधि तथा उपकरणहरु सहयोग गरेको छ ।

२ करोड ४ लाख सिरिन्ज खरीद सम्झौँता
यसैबीच स्वास्थ्य सेवा विभागले २ करोड ४ लाख सिरिन्ज खरीदको सम्झोँता गरेको छ । गत शुक्रबार सिरिन्ज खरीदको सम्झौँता गरेको हो । सम्झौँता अनुसार १५ दिन भित्र ५० लाख उपलव्ध गराउने आपूर्तिकर्ताले बताएको छ ।

‘सम्झौँता अनुसार १५ लाख वटा सिरिन्ज पथलैयास्थित हाम्रो स्टोरमा आइसकेको छ । १५ लाख बोर्डरमा आइसकेको छ भन्ने सुनेका छौँ । बाँकी परिमाणका सुई पनि १५ दिन भित्र आउँछन् । त्यसैले अहिले खोप र सुईको अभाव हुँदैन । खोप अभियान निर्वाध रुपमा जारी रहन्छ,’ चौरसियाले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *