औषधि अभाव हुन नदिने उत्पादक तथा व्यवसायीको प्रतिवद्धता

काठमाडौँ, ५ माघ । कोभिड – १९ को संक्रमण बढेसंगै बजारमा सिटामोल लगायतका अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । तर औषधि व्यवसायी तथा उत्पादकहरुले यस्तो अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । बुधबार औषधि व्यवस्था विभागले गरेको छलफलमा व्यवसायीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘औषधिको उत्पादन र वितरण नियमित रुपमै भइरहेको छ । तर कोभिड बढ्नासाथ माग अलि बढेर जान्छ । यसले बजार केही असन्तुलित भएको हुनसक्छ । त्यस विषयमा राज्यले नियमन तथा अनुगमन गर्नुपर्छ । हामीले बजारमा चाहिने औषधि प्रयाप्र्त मात्रामा पठाउने छौँ ,’नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले भने ।

उनले सिटामोल लगायतका कतिपय महत्वपूर्ण औषधिमा देखिएको समस्याहरुलाई दीर्घकालिन रुपमा समाधान गर्न लामो समय देखि चलेको मूल्य समायोजनको विषयलाई टुंगोमा पुर्‍याउनु नै पर्ने बताए ।

कार्यक्रममा नेपाल औषधि लिमिडेटका महाप्रवन्धक मोहम्मद सफिउल्लाहले शुक्रबारसम्म बजारमा अभाव भएको भनिएको सिटामोलको १५ लाख बढी ट्यावलेट पठाइसक्ने प्रतिवद्धता जारी गरे ।

बैठकमा नेपाल औषधि आयातकर्ता संघले पनि विशेष परिस्थितिका बेला बजारमा अत्यावश्यक औषधिको अभाव हुन नदिनका लागि सम्वेदनशील रहेको बतायो । संघका महासचिव पवन आचार्यले आवश्यक परेमा सहुलियत दरमा औषधि आयात गरेर अभाव हटाउनका लागि आफूहरु तयार रहेको जानकारी दिए ।

विभागका महानिर्देशक नारायण ढकालले औषधिको उत्पादन र आपूर्तिलाई नियमित गर्न र बजारलाई सन्तुलित बनाउन व्यवसायी तथा उत्पादकहरुसंग आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *