बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व गर्न प्रमुख विशेषज्ञ डा. यादवलाई पठाउने निर्णय

काठमाडौँ, ५ माघ । सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामचलाउ नेतृत्व गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवलाई पठाउने निर्णय गरेको छ ।

गत ३० पुसमा बसेको मन्त्रिपरिषद बैठकले डा यादवलाई अर्को व्यवस्था नभएसम्म उपकुलपतिको अनुपस्थितिमा हुने शैक्षिक तथा प्रंशासनिक कामको नेतृत्व गर्न सक्ने गरी पठाउने निर्णय गरेको हो ।

सो बैठकले डा यादवको नेतृत्वमा महालेखा परीक्षकबाट एक जना उपसचिवलाई तत्काल खटाउने र बाँकी जनशक्ति खटाउनका लागि आवश्यकता अनुसार निर्णय लिनसक्ने गरी स्वास्थ्य मन्त्रालयलाई अधिकार दिएको स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले जानकारी दिए ।

यसअघि स्वास्थ्य मन्त्रालयले डा यादवको नेतृत्वमा पाँच सदस्यीय टोली धरान पठाउने निर्णय गरेको थियो । तर कार्यान्वयनमा लैजाने बेलामा विरोध हुनसक्ने भन्दै विज्ञहरुले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई सुझाव दिएपछि सो सम्वन्धी विषयलाई मन्त्रिपरिषद्बाट पास गरेर मात्रै कार्यान्वयनमा लैजाने निस्कर्षमा उनी पुगेका थिए ।

‘खासमा ३० पुसमा बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको रहेछ । निर्णय पत्र आज मात्रै स्वास्थ्य मन्त्रालयमा आईपुग्यो । त्यसमा डा यादवको नेतृत्वमा महालेखा परीक्षकको कार्यालयबाट एक जना उपसचिव खटाउन भनिएको छ । त्यसैले हामीले नाम पठाउनका लागि महालेखालाई पत्र पठाइसकेका छौँ । अब छिटै त्यहाँबाट एक जना प्रतिनिधि पठाउनुहुन्छ र टोली धरान प्रस्थान गर्दछ,’ विज्ञ सल्लाहकार डा ढकालले भने ।

अनियमितताको आरोप लगाउँदै प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले उपकुलपति डा ज्ञानेन्द्र गिरी सहित अन्य पदाधिकारीहरुलाई छानवीन गरि कारवाही गर्न माग गर्दै आन्दोलनमा उत्रिएपछि सरकारले स्वास्थ्य मन्त्रीको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो । सो समितिले प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीलाई छानवीन प्रतिवेदन बुझाइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *