कोरोना संक्रमितको उपचार गर्न निजी तथा सामुदायिक अस्पतालसंग सम्झौता गर्दै सरकार

काठमाडौँ, ३ माघ ।  कोरोना संक्रमण बढेसंगै सरकारले पुन निजी तथा सामुदायिक अस्पतालसंग उपचार सम्झौँता गर्ने भएको छ । गत शुक्रबार (३० पुसमा) बसेको मन्त्रिपरिषद बैठकले जारी गरेको कोभिड रोकथाम तथा नियन्त्रण सम्वन्धी आदेशमा सो कुरा उल्लेख छ ।

आदेशको बुँदा नं २२ ले कोभिड रोकथाम नियन्त्रण उपचार र अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने उल्लेख छ । सोही बुँदाको (ख) मा अस्पतालमा निश्चित बेड छुट्याई कोभिड केयर युनिट सेवा दिने सम्वन्धमा आवश्यक आदेश जारी गर्ने उल्लेख छ ।

यस्तै बुँदा नं (ग)मा दुई सय भन्दा बढी वेड क्षमता भएका सरकारी, सामुदायिक, निजी, गैरसरकारी (निजी मेडिकल कलेज, प्रतिष्ठान अस्पताल समेत) अस्पतालसंग संक्रमितको उपचारका लागि सेवा सम्झौँता गर्ने, अनुगमन गर्ने र सोधभर्ना भुक्तानी गर्ने उल्लेख छ ।

उपचार गर्ने अस्पताललाई कसरी सोधभर्ना गर्ने ?
सरकारले जारी गरेको आदेशको २२ (ङ) बुँदामा संस्थागत आइसोलेन र उपचार केन्द्रमा के कसरी रकम सोधभर्ना गर्ने भन्ने उल्लेख छ । सो अनुसार (डीसीसीएमसीको निर्णय बमोजिम तोकिएका होटल आइसोलेसन समेत) मा प्रति संक्रमित २ हजार रुपैयाँ सोध भर्ना गर्ने उल्लेख छ ।

यस्तै अस्पताल आइसोलेसनमा प्रति संक्रमित ३५०० रुपैयाँ, मध्यम तथा जटिल केशको उपचारका लागि प्रतिदिन ७००० रुपैयाँ र गम्भीर बिरामी आइसियूमा भेन्टिलेटर सहितो उपचारका लागि प्रतिदिन १५ हजार रुपैयाँ सोधभर्ना गर्ने उल्लेख छ । सोधभर्ना प्रत्येक महिना पहिलो साता गर्ने समेत उल्लेख छ ।

सरकारले यसअघिका पहिलो र दोस्रो लहरका बेला पनि अस्पताल तथा आइसोलेसन सेन्टरसंग यसैगरी सम्झौँता गरी संक्रमितका लागि निशुल्क उपचारको व्यवस्था मिलाएको थियो ।

उपचार तथा परीक्षण निशुल्क
आदेशको २२ (ज)मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका प्रयोगशाला र अस्पतालले सो मन्त्रालयले जारी गरेको कोभिड १९ परीक्षण निर्देशिका र उपचार प्रोटोकलबमोजिम कोभिड १९ को परीक्षण तथा उपचार निशुल्क गर्ने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *