जन्मेको तीन दिनकी एक शिशुको शरीरबाट पौने दुई केजीको ट्युमर हटाइदिएपछि….

  • रामप्रसाद न्यौपाने
शल्यक्रिया गर्नु अघिको नवजात शिशु,

काठमाडौँ, २६ पुस । कान्ति बाल अस्पतालका चिकित्सकहरुले जन्मेको तीन दिनकी एक बालिकाको शल्यक्रिया गरी शरीरवाट पौने दुई केजी ट्युमर हटाईदिएका छन् । एक साता अघि सिन्धुली अस्पतालमा एक महिलाले जन्माएको नवजात शिशुको चार दिन अघि कान्ति अस्पतालमा शल्यक्रिया गरिएको हो ।

‘चार दिन अघि अर्थात कान्तिको ६० औँ बार्षिकोत्सव भएकै दिन हामीले शल्यक्रिया गरेका हौँ । पौने दुई घण्टामा शल्यक्रिया सकिएको हो । नवजात शिशुको एक तिहाई बढी मासु शरीरबाट निकाल्नु आफैमा चुनौतीपूर्ण थियो । तर हामी त्यसमा सफल भयौँ । अहिले शिशुको अवस्था सामान्यउन्मुख हुँदैछ,’ शल्यक्रियाको नेतृत्व गरेका बाल शल्यचिकित्सक प्राडा विजय थापाले भने ।

प्राडा थापाका अनुसार नवजात शिशुमा ‘स्याक्रोकक्सीजियल टेराटोमा’ भन्ने ट्युमर थियो । यो ट्युमर नवजात शिशुमा देखिने दुर्लभ ट्युमर हो । प्राय बालक भन्दा बालिकाहरुमा बढी देखिन्छ ।

कलिलै उमेरमा आमा बनेकी सिन्धुली घर भएकी पहारी थर कि महिलाको उमेर २० वर्ष भन्दा कम छ । उनको यो पहिलो सन्तान हो ।

सुत्केरी हुनु अघि स्थानीय स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड गर्दा त्यहाँका स्वास्थ्यकर्मीले शिशुमा ट्युमर भएको थाहा पाएका रहेनछन् । तर शिशुको तौल सामान्य भन्दा बढी छ भनेर सिन्धुली अस्पतालमा रिफर गरेका रहेछन् । त्यहाँका चिकित्सकले एक साता अघि शल्यक्रिया गरेर बच्चा निकाल्दा मात्रै ठूलो ट्युमर जोडिएको थाहा भएको हो ।

‘ठूलो ट्युमर सहित जन्मेको बच्चा देख्नासाथ कान्ति अस्पताल रिफर गरिदिनु भएछ । जन्मेकै भोलीपल्ट नवजात शिशुलाई कान्ति ल्याइयो । त्यसको तीन दिन भित्र हामीले आवश्यक जाँच र परीक्षण गरी शल्यक्रिया सम्पन्न गर्न सफल भयौँ,’ डा थापाले भने ।

शल्यक्रिया गरेपछि,

जन्मिदा ४.५ केजी तौल भएको शिशुको शल्यक्रिया पछि २.७५ केजी रहेको छ ।

नेपालमा यस्ता केशहरु कति छन् भन्ने थाहा छैन् तर कान्ति अस्पतालमा दुई महिना अघि पनि यस्तै केश भएको एक बालकको शल्यक्रिया गरी ट्युमर हटाइएको थियो ।

‘४० देखि ५० हजार जन्ममा एक जनामा यस्तो समस्या देखिने अन्तराष्ट्रिय अनुसन्धानले देखाएको छ । यस्तो ट्युमरको शल्यक्रिया जति छिटो भयो खराव रुप लिने सम्भावना उत्तिकै कम हुने पनि भनिएको छ । हामीले एकदमै कम समयमा शल्यक्रिया गरेका छौँ । अब खराव अवस्था नआउला,’ उनले भने ।

शल्यक्रिया गरी हटाइएको ट्युमर

शल्यक्रियामा प्राडा थापाको नेतृत्वमा एसोसियट प्राडा अनुपमा बस्नेत, डा सुलोचना दाहाल, आवासीय चिकित्सक विनेश झा, एनेस्थेसियामा असिस्टेन्ट प्रोफेसर डा.  कृष्ण भट्टराई, नर्सिङ तर्फ सृजना तामाङ र लक्ष्मी प्रछाईंको टीम खटिएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *