झापा २३ पुस । बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलले झापा अर्जुनधाराका एक बालकको निशुल्क उपचार गर्ने भएको छ । उपचार गर्ने खर्चको अभावमा विगत १० महिना देखि खोरमा थुनेर राखिएका ९ वर्षीय बालकको अस्पतालको टीमले शुक्रबार उद्धार गरी निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको हो ।अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको उद्धार गर्न बीएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाई टीमको नेतृत्व गर्दै आफै खटिएका थिए ।
जन्मदेखि नै बोली नआएको बालकलाई गएको चैतदेखि खोरमा राख्न थालिएको परिवारले जनाएको छ । ‘जन्मेको ३ दिनमै मुर्छा पर्न थालेको छोराले सानैदेखि दुःख व्यहोरेको छ, यसले मात्रै होइन परिवार नै समस्यामा परेको छ,’ आमा चम्पादेविले भावुक हुँदै भनिन्, ‘खेतीपाती नगरी हातमुख जोर्न सकिदैन, खेतीको काम गर्नु कि नानीको हेरचाह ? समस्यामा पर्न थालेपछि मन कठोर पारेर खोरमा राखेका हौँ ।’
छोराको उपचारका लागि सकेसम्म खर्च गरे पनि स्वास्थ्यमा केही सुधार नआएको उनको भनाइ छ । ‘उपचारका लागि डाक्टरदेखि धामी झाँक्रीसम्म लगायौँ तर केही सुधार देखिएन । त्यसैले खोरमा थुन्न बाध्य भयौँ,’ बालककी आमा चम्पाले भनिन् ।
बिएन्डसीको तर्फबाट उद्दार गर्न पुगेको चिकित्सक र व्यवस्थापन टोली घरमा पुग्दा बालक खोरमै थिए । खोरमै पुगेका हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बालकको उपचार गरिदिने जिम्मा लिएका छन् । लामो समयदेखि बालक खोरमा राखिँदा पनि राजनीतिकर्मी, समाजसेवीले केही पहल नगरेको भन्दै प्रसाईले रोष प्रकट गरे । उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको बिएन्डसीले उपचार गर्दै आएको बताउँदै त्यस्ता कोही व्यक्ति छन् भने खबर गर्न पनि गाउँलेलाई आग्रह गरे ।
‘यो छोरा तपाईको होइन, अब हाम्रो पनि छोरा हो, उपचार गरेर घर ल्याइदिन्छौँ ‘, बालकको परिवारलाई उनले आश्वस्त पारेका छन् । उनले भने, ‘कोही पनि पैसा नभएर उपचार पाएका छैनन् भने हामीलाई खबर गर्नुहोला ।’ कार्यकारी निर्देशक प्रसाईंले भने ।
बुवा गुप्तबहादुर छोराको उपचारका लागि सँगै हस्पिटल गएका छन् ।
स्वास्थ्यसँगै शिक्षा क्षेत्रमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै यसअघि पनि उपचार अभावमा साङ्लामा बाँधिएका व्यक्तिलगायत धेरै विपन्नको बिएन्डसी हस्पिटलले निःशुल्क स्वास्थ्योपचार गरिसकेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
स्थानीय सामाजिक अभियन्ता कमल पोख्रेलले बालकको अवस्था देखेर सामाजिक सञ्जालमा छोटो भिडियो राखेपछि हस्पिटल सम्पर्कमा आएको हो ।
बालक एक्लै बस्ने, कसैसँग नबोल्ने, रिस उठ्दा आफैँले आफैँलाई कुट्ने, अनुहार कोतार्ने, भित्तामा टाउको ठोकाउने, घरदेखि बाहिर निस्केपछि फर्किएर नआउने, साथीभाइसँग नबस्नेलगायत आनीबानी रहेको बुवा गुप्तबहादुरले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई
(nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।