वीपी प्रतिष्ठानमा प्रमुख विशेषज्ञको टोली पठाउने स्वास्थ्यको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा थन्कियो
काठमाडौँ, २१ पुस । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दैनिक कामकाज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव नेतृत्वको टोली पठाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव अलपत्र परेको छ ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले फाइल सदर नगरेपछि दश दिन अघि स्वास्थ्यले पठाएको प्रस्ताव अलपत्र परेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतले स्वास्थ्यबाट आएको प्रस्ताव अपरिपक्व देखिएकोले थप तयारी गरेर निर्णय गर्ने निस्कर्ष निकालेको छ ।
मन्त्रालयले पठाएको प्रस्तावमा उपकुलपतिको जिम्मेवारी मन्त्रालयको प्रमुख विशेषज्ञ डा श्याम सुन्दर यादवले सम्हाल्ने, शिक्षाध्यक्षको जिम्मेवारी वीर अस्पतालका एघारौँ तहका डाक्टर रविराम श्रेष्ठले चलाउने उल्लेख थियो । यस्तै प्रशासन हेर्न मन्त्रालयले सुरेश दाहाललाई पठाउने निर्णय गरेको थियो । बाँकी दुई जना सदस्यमा कानून मन्त्रालयले कानून अधिकृत र अर्थ मन्त्रालयले एक जना लेखा हेर्ने अधिकृत पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको थियो ।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले वीपीको विषयमा स्वास्थ्य मन्त्रालयले दश दिन अघि नै निर्णय गरी प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पठाएको पुष्टि गरे । उनले भने, ‘हामीले त्यहाँको समस्या समाधान गर्नका लागि टिम फरमेसन गरेर मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेका छौँ । त्यहाँबाट निर्णय हुन बाँकी छ ।’
प्रधानमन्त्री कार्यालय स्रोतले भने अहिलेको प्रस्तावलाई टेकेर निर्णय गरेपनि कामविहीन बनाइएका पदाधिकारी अदालतबाट अन्तरिम आदेशबाट आइहाल्ने भन्दै थप बिचार पुर्याएर निर्णय लिने योजना रहेको बताए । ‘हतारो नगरौँ, प्रक्रिया पुर्याएरै जाउँ, हतारको निर्णय कच्चा हुनसक्छ । भन्ने सुझाव आएको छ । हाम्रो टिम त्यसलाई कसरी परिपक्व बनाउने भन्ने दिशामा लागेको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीसहितको टीमले अनियमितता गरेको भन्दै त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु लामो समय देखि आन्दोलित भएपछि अनियमितता छानवीन गर्नका लागि स्वास्थ्यमन्त्री खतिवडाकै संयोजकत्वमा छानवीन टोली गठन गरिएको थियो । सो टोलीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाईसकेको छ । यद्धपी प्रतिवेदन सार्वजनिक भएको छैन् ।
सम्पर्क इमेल : [email protected]