म्याद थपिएको एक सातामै हटिन राप्तीको उपकुलपति प्राडा भण्डारी

काठमाडौं, २ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति पदमा शिक्षाध्यक्ष डा बसन्त लामिछानेलाई ल्याइएको छ । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री विरोध खतिवडाले विहीबार निर्णय गर्दै डा लामिछानेलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै निमित्त उपकुलपति पदको जिम्मेवारी दिएका हुन् ।

मन्त्री खतिवडाले एक साता अघि मात्रै अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उपकुलपति प्राडा संगिता भण्डारीको म्याद थप गरी कामलाई निरन्तरता दिन आदेश जारी गरेका थिए । मन्त्री खतिवडाले २६ मंसिरमा पदावधि सकिन लागेकी भण्डारीलाई २४ मंसिरमै म्याद थप गर्ने निर्णय गरेका थिए । तर उनले एक सातामै निर्णय बदले ।

‘एक साता अघि प्राडा भण्डारीकै म्याद थप्ने निर्णय भएको त हो । तर उहाँले पत्र बुझिसक्नु भएको थिएन । यसबीचमा फेरी अर्को निर्णय भयो । उहाँलाई विदा गरियो,’ स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले भने ।

स्रोतका अनुसार भण्डारीको म्यादथपको निर्णय भएपछि मन्त्रीमाथी चर्को दवाव आएको थियो । उनी पृष्ठभूमी विवादित छ भन्ने कुरा आयो । धेरै ठाँउबाट प्रेसर आयो । त्यसकारण निर्णय परिवर्तन भयो ।

डा ढकालले उपकुलपतिको नाम सिफारिस गर्न सर्च कमिटि सिफारिस भइसकेकोले अब धेरै आत्तिनु नपने बताए । ‘अब समिति बनिसकेको छ, त्यसले छिटै नै प्रक्रिया अघि बढाएर नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्छ । त्यसपछि यो विवाद हराउँछ’ उनले भने ।

यसअघि सरकारले स्वास्थ्य मन्त्री खतिवडाको संयोजकत्वमा उपकुलपति छनोटका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

सो समितिमा मन्त्रालयका सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला सदस्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *