कान्तिपुर डेन्टल कलेज १५ औँ बर्षमा प्रवेश

काठमाडौँ, १ पुस । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) आजबाट १५ औं बर्षमा प्रवेश गरेको छ । मुख स्वास्थ्य उपचार सेवा र त्यसकै लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने मुख्य ध्येय राखि स्थापित यो संस्थाले वितेका १४ औँ बर्षमा सयौँ दक्ष जनशक्ति उत्पादन गर्ने र लाखौँलाई उपचार सेवा दिने कार्य गरिरहेको छ ।

बार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा कलेज अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलेज स्थापना, सञ्चालन र त्यसपछि आएको नतिजा र देशका लागि गरेको योगदानको चर्चा गरे । उनले मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा केडीसीले स्वदेशमा मात्रै नभई विदेशमा समेत नाम कमाएको चर्चा गरे ।

केडीसीको सेवा

केडीसीले बढ्दै गईरहेको सडक दुर्घटना, लडेर हुने दुर्घटना, खेलकुद दुर्घटना, घरेलु हिंसा, तथा खुँडेपनको अत्याधुनिक उपचारको केन्द्रको रुपमा यस अस्पतालमा नेपालमै पहिलो ओरल एण्ड म्याक्जिलोफेसियल ट्रमा सेन्टर सञ्चालनमा ल्याइसकेको छ । यस्तै आधुनिक प्रसाधनको रुपमा लिईने डेन्टल इम्प्लान्टबाट स्वस्थ प्राकृतिक दाँत जस्तै, दाँत रोप्ने प्रबिधिको केन्द्रको रुपमा डेन्टल इम्प्लान्ट सेन्टरको सञ्चालनमा ल्याइसकेको डा श्रेष्ठले बताए ।

त्यसो त केडीसीले जनताको मुख स्वास्थ्यमा सुधार ल्याउनको देशका ५५ भन्दा वढी जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जानकारी गराउनुका साथै देशका विभिन्न ठाउँहरुमा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

यस्तै विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्य अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको छ ।

‘स्थापना काल देखि यस शिक्षण अस्पतालले एक लाख भन्दा बढी दन्त स्वास्थ्य बिरामीहरुमा सेवा पु¥याउनुको साथै ब्यचलर ईन डेन्टल सर्जरी बीडीएसततर्फ २७८ जना र २४ जना मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ बिषेशज्ञहरु उत्पादन गरि सकेको छ । यस्तै प्राविधिक ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा २०६९ साल देखि संचालित सर्टिफिकेट इन डेन्टल साइन्स तर्फ १३८ जना र डिप्लोमा ईन फार्मेसी तर्फ १७५ जना प्रबिधिकहरु उत्पादन गरिसकेको छ, डा श्रेष्ठले अगाडी थपे ।

‘आगामी दिनमा थप कार्यक्रम र उपचारका लागि प्रविधि भित्र्याउने योजनामा हामी छौँ ।’

उनले एकेडेमिक र क्लिनिकल संगै कम्युनिटी हेल्थ र रिसर्चका कार्यहरुलाई संगसंगै अघि बढाएको समेत जानकारी दिए । ‘त्यसैले पनि हामी स्वदेश र विदेशमा परिचित छौँ,’ उनले टिप्पणी गरे ।

‘मुख तथा दन्त स्वास्थ्यमा नेपालीको अवस्था सन्तोषजनक छैन’

डा श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यमा नेपालीको अवस्था सन्तोषजनक नभएको बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई हवाला दिदै संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको र यसको उपचार विश्वमा चौथो महङ्गो उपचारको रुपमा लिइने गरेको समेत दावी गरे ।

नेपालीहरुमा ३५ देखी ४४ वर्षको उमेरमा नै पाइरियाको कारणले गर्दा दाँत झर्ने समस्या देखिएको छ भन्दै उनले दाँतमा किरा लाग्ने, गिजाको रोग तथा मुखको क्यान्सर जस्ता समस्याहरुबाट पनि थप नेपाली पिडीत भएको बताए ।

मुख तथा दन्त स्वास्थ्य राम्रो नभएमा मुटुको रोग, मधुमेह जस्ता रोग लाग्नुका साथै गर्भवती महिलाले मुख तथा दन्त स्वास्थ्यलाई ध्यान नदिए कम तौलको बच्चा जन्म दिने तथा समय भन्दा अगावै बच्चा जन्माउने समेतको समस्या देखा पर्ने भन्दै उनले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अनिवार्य रुपमा मुख तथा दन्त स्वास्थ्यको पनि जाँच गराउनुपर्ने बताए ।

नेपालमा अझै पनि ८० प्रतिशत मानिसहरुले दन्त उपचार सेवा पाउन सकेका छैनन् । अधिकांश ग्रामिण भेगका जनताहरु उपचार नपाउनाले दाँत किराले खाने, गिजाको रोग (दन्त हर्षा तथा पाइरिया), बाँङ्गो टिङ्गो दाँत भएको, मुखमा घाउखटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर जस्ता समस्याहरुबाट पिडित छन् ।

यस्ता समस्याबाट बच्न के गर्ने ?

डा श्रेष्ठका अनुसार यस्ता समस्याहरुबाट बच्नको लागि दिनको दुईपटक फ्लोराइडयुक्त मञ्जनले ब्रस गर्ने, ६–६ महिनामा दन्त चिकित्सककोमा गएर दन्त परीक्षण गराउनुका साथै सामान्य अवस्थामानै रोगको उपचार गराउनुपर्दछ ।

उनले यसका साथै दन्त स्वास्थ्य उपचारमा पहुँच नरहेको र निम्न आयश्रोत भएका ग्रामिण भेगका जनताहरुलाई निकै खर्चिलो मानिने यस उपचारलाई रोग लागेपछि उपचार खोज्नु भन्दा रोग लाग्नै नदिनुको अवधारणा अन्तर्गत ग्रामिण भेगमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नु आवश्यक भएको बताए ।

हाल नेपालमा करिब ३ हजार २ सय जना दन्त चिकित्सकहरु नेपाल मेडिकल काउन्सिलमा दर्ता भएपनि करिव ६० प्रतिशत मात्र नेपालमा कार्यरत रहेका छन् । त्यस्तै करिव १००० जना डेन्टल हाइजेनिष्टहरु रहेका छन् जसबाट करिव ३ करोड नेपालीहरुलाई सेवा पु¥याउन गाह्रो भएको अवस्था छ ।

मुख तथा दन्त क्षेत्रमा केडीसीको योगदान उत्कृष्ठ

यसैबीच बार्षिकोत्सवको अवसरमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले मुख तथा दन्त क्षेत्रमा केडीसीको योगदान उत्कृष्ठ रहेको बताए । उनले विविध समस्याका बावजुत केडीसीले राज्यलाई योगदान पु¥याएको बताए । एमबीबीएस र वीडीएसको कार्यक्रम झण्डै एकै खालको भएपनि शुल्कमा ठूलो भिन्नता रहेको बताए ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन प्राडा मनोज हुमागाईंले मुख तथा दन्त स्वास्थ्यमा केडीसीले दिएको सेवा, उत्पादन गरेको दक्ष जनशक्तिको चर्चा गर्दै देशकै पायनियर संस्था बन्न सफल भएको बताए ।

स्वास्थ्य सेवा विभागको इएनटी शाखा प्रमुख डा प्रकाश बुढाथोकीले दन्त सेवा अहिले सरकारको समेत प्राथमिकतामा परेको भन्दै केडीसी जस्ता संस्थाले दक्ष जनशक्ति उत्पादन गरोस भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा कलेजका प्रन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले स्वागत गर्दै केडीसीको शैक्षिक कार्यक्रमबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल डेन्टल एसोसियसनका डा सुभित मास्के, डा दिल इस्लाम मन्सुर लगायतले बोलेका थिए ।

सोही समारोहमा बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर कलेजस्तरीय हाजिरीजवाफ प्रतियोगिता, फुटसल र क्रिक्सल प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *