आफ्नै घरमा बसेर मेडिकल शिक्षा पढ्ने कर्णालीका विद्यार्थीको सपना पुरा भयो : राष्ट्रपति भण्डारी

जुम्ला, २६ मंसिर ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टरी पढाउन थालेसँगै कर्णालीवासीको सपना पूरा भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आइतबार जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाईको शुभारम्भ गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् ।

‘यहाँका विद्यार्थीहरुले आफ्नै घरमा बसेर उच्चस्तरीय मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भनि गरेको प्रयास आज सार्थक भएको छ,’ उनले भनिन्, ‘प्रतिष्ठानले दुर्गम क्षेत्रमा पुर्‍याएको गुणस्तरीय स्वास्थ्य सेवाले यहाँका बिरामीहरुमा परिवर्तन समेत ल्याएको छ’ उनले भनिन् ।

हुन पनि दुर्गम क्षेत्रका गर्भवतीहरुका लागि राष्ट्रपति हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भइरहेकोमा पछिल्लो चरणमा प्रतिष्ठानले दुर्गम क्षेत्रमा दिएको उपचारले गर्दा हवाई उद्धारको संख्या पनि घटेको छ ।

राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा. मंगल रावलले बताए।

कसरी हुँदैछ पढाई ?

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा पहिलो पटक स्नातक तहका मेडिकल शैक्षिक कार्यक्रम सञ्चालनमा आएका हुन् ।  नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानका लागि २० वटा कोटा एमबीबीएसका लागि तोकिदिएको छ । त्यहाँ अहिले १९ जना विद्यार्थी पुगिसकेको र एक जना आउने क्रममा रहेको उपकुलपति डा रावलले बताए ।

यस्तै वी फार्मेसीमा  ११ जना, बीएमएसतर्फ ८ जना बीएनएस नर्सिङ १६ जना र बीपीएचमा ८ जना विद्यार्थी भर्ना भइ आइतबारदेखि पढाइ सुरु भएको उनले जानकारी दिए ।

एक जना डाक्टर पाउन मुस्किल हुने ठाउँमा डाक्टर उत्पादन गर्ने कारखानाको रुपमा परिणत भएको प्रतिष्ठानका उपकुलपति डा रावलको भनाई थियो ।

उनले अगाडी थपे, ‘अब छिट्टै स्नातकोत्तर तहका अन्य शैक्षिक कार्यक्रमहरु संचालन र पीएचडी तहका कार्यक्रमहरु पनि सञ्चालन गर्नेतर्फ प्रतिष्ठानको ध्यान केन्द्रित भएको छ ।’

विसं २०६८ साल कात्तिकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि विसं २०६९ साल कात्तिक २३ गतेदेखि एकजना विशेषज्ञसहित ५ जना चिकित्सक जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालमा प्रतिष्ठानले सेवा दिइरहेको थियो ।  स्थापनाको ठ्याक्कै दशवर्ष पछि प्रतिष्ठानले एमबीबीएस लगायतका विषयको पढाई सुरु गरेको हो ।

समुदघाटन समारोहमा कर्णाली प्रदेश प्रमुख तिलक रावल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, पूर्व पदाधिकारीका तर्फबाट श्याम लम्साल लगायतले नयाँ शैक्षिक कार्यक्रम सुरु गर्न सफल भएको भन्दै शुभकामना मन्तव्य दिएका थिए । उपकुलपति डा रावलले प्रतिष्ठानले कसरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भयो भन्दे जानकारी गराएका थिए । उनले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

यसैबीच राष्ट्रपति भण्डारीले ७६ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेकी छन् । कक्षारम्भ कार्यक्रमका लागि जुम्ला पुगेको अवसरमा राष्ट्रपति भण्डारीले चिकित्सा शिक्षा शैक्षिक भवनको समेत शिलान्यास गरेकी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *