जनकपुरको विवाह महोत्सवमा सहभागीलाई कोभिडविरुद्धको खोप

जनकपुर, २२ मंसिर । आज विवाह पञ्चमी । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज जनकपुरमा विवाह पञ्चमी महोत्सव मनाइँदै छ । यस अवसरमा आज जनकपुरमा लाखौँको सहभागिता हुँदैछ ।

यसै अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा महोत्सवमा सहभागीहरुलाई कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाइएको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा रमेश ढकालले महोत्सवमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिइएको बताए ।

स्वास्थ्य कार्यालय धनुषाका खोप सुपरभाइजर अधिकृत राजदेव यादवका अनुसार जानकी मन्दिर परिसर र महोत्सव हुने बाह्रविघा मैदानमा गरी दुईवटा खोप स्टल राखिएको छ । ‘त्यहाँ स्वास्थ्य कार्यालय र जनकपुर उपमहानगरपालिकाले स्वास्थ्यको स्टल राखेको अवस्था छ । त्यहि स्टलमा खोपको पनि व्यवस्था गरेका छौँ । विहानदेखि अपरान्ह चार पाँच बजेसम्म पहिलो डोज खोप लगाउन चाहने नेपाली नागरिकलाई यो सुविधा प्रदान गरेका छौँ । शिविरमा भेरोसेल खोप दिइदैछ,’ यादवले भने ।

उनले भोलि देखि भने स्वास्थ्य कार्यालय धनुषामा भेरोसेल र एस्टाजेनेका गरी दुबै खोपको पहिलो र दोस्रो डोज लगाउने योजना मिलाएको सुनाए । आगामी २४ देखि २८ मंसिरसम्म जिल्लाका सबै पालिकामा तिब्रगतिमा खोप अभियान सञ्चालन गर्ने योजना रहेको समेत बताए । उनले भने, हामीले त्यसबेला करीव १ लाख डोज खोप दिने योजना छ ।

अहिले प्रदेशस्थित आपूर्ति केन्द्रमा ६० हजार डोज खोप मौज्दात रहेको समेत सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *