कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु

काठमाडौँ, १९ मंसिर ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा तर्फको स्नातक तह एमबीबीएस पढाई सुरु भएको छ । प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीहरुलाई आइतबारबाट काउन्सिलिङ सुरु गरिएको हो ।

यद्धपी औपचारिक आरम्भ भने २६ मंसिरबाट हुने प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए ।

एमबीबीएस पढाउने कर्णाली प्रदेशकै पहिलो ठहरिएको प्रतिष्ठानमा औपचारिक रुपमा एमबीबीएस कक्षा शुभारम्भ भएको घोषणा २६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

नेपाल मेडिकल काउन्सिलले यसवर्ष देखि जुम्लामा एमबीबीएसका लागि २० सिट तोकेको छ । त्यसमध्ये १५ सिट पूर्ण छात्रबृत्ति र पाँच सिट सशुल्क हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा पास गरी अहिले २० जना विद्यार्थी त्यहाँ भर्ना भइसकेका छन् ।

प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ। अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ।

प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र सोही तहमा नर्सिङ विषयको पनि पढाई सुरु भएको छ । ती दुवै विषयमा २० २० जना विद्यार्थी अध्ययन गर्नेछन्।

गतवर्ष देखि प्रतिष्ठानमा पोष्टग्राजुएट्स (एमडी) तहमा पाँच जनाले अध्ययन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बीपीएच) र मिडवाइ्फ्रि सम्वन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो।

एमबीबीएस कक्षा आरम्भका बेला स्वास्थ्यमन्त्री विरोध खतिवडा, शिक्षामन्त्री देवेन्द्र पौडेल समेत जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *