अस्पतालका निर्देशकहरुलाई स्पष्टीकरण सोध्दै स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौँ, १७ मंसिर । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य विभाग शाखा महाशाखाको नेतृत्व फेर्ने कार्य ‘एकसरो’ सिध्याएपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाको टार्गेट अस्पताल निर्देशकहरु प्रति सोझिएको छ ।

टेकु अस्पतालको निर्देशक परिवर्तन गरेपछि उनले अहिले प्रदेश तथा संघीय तहको अस्पतालका निर्देशकहरु धमाधम चिठी काट्दै स्पष्टीकरण सोध्न थालेका छन् । यतिखेर भरतपुर, नारायणी, डडेल्धुरा लगायतका अस्पतालका निर्देशकहरुलाई पत्र पठाइसकिएको छ ।

अरु थुप्रै संघीय अस्पताल तथा प्रदेश अस्पतालहरुमा पत्र जाने क्रममा रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

एक पछि अर्को गर्दै निर्देशकहरुलाई स्पष्टकरण सोध्ने ‘विरोध शैली’को भने विरोध हुन थालेको छ ।

पूर्व स्वास्थ्य मन्त्री एवं एमाले नेता खगराज अधिकारीले त कोभिडको सामना गरिरहेका अस्पताल निर्देशकहरुलाई ७२ घण्टे स्पष्टीकरण सोध्नु खेदजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा स्वास्थ्य मन्त्रालयले निर्देशकहरुलाई धम्क्याई पैसा उठाउने खेलोमा लागेको आरोप लगाएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘स्वास्थ्य मन्त्रालय अहिले पैसा उठाउन लागेको छ। कोभिडको सामना गरिरहेका अस्पतालका निर्देशकहरूलाइ ७२ घन्टे स्पष्टीकरण सोधेर धम्काइ रहेको छ। यो खेदजनक छ ।’

यता स्वास्थ्य मन्त्री खतिवडाको सचिवालयले निर्देशकहरुलाई स्पष्टीकरण सोधेको कुरा सहि भएपनि पैसा उठाएको भन्ने कुरामा सत्यता नरहेको बताएको छ ।

स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले नेपाली हेल्थसंग कुरा गर्दै अस्पतालका निर्देशकहरुलाई स्पष्टीकरण सोधेको कुरा सहि भएको बताए । ‘थुप्रै अस्पतालका निर्देशकहरुको काम कारवाहीका विषयमा हामीकहाँ उजुरी परेको छ । कतिपयमा तहगत कुरा नमिलेको पनि प्रश्न उठेको छ । ती उजुरी र प्रश्न आइसकेपछि स्पष्टीकरण त लिनै पर्‍यो नि, त्यहि लिएका हौं । जवाफ चित्त बुझ्दो आएन भने जिम्मेवारीमा हेरफेर पनि हुनसक्छ । यसलाई अस्वभाविक मान्नु हुँदैन ।’

मन्त्रालय स्रोतका अनुसार यसबेला मन्त्रीको पहिलो टार्गेटमा नेकपा एमालेप्रति आस्थावान चिकित्सक परेका छन् । कांग्रेस र माओवादीप्रति आस्थावान चिकित्सकहरु दोस्रो प्राथमिकतामा रहेका छन् ।

तर डा ढकालले भने यसमा पनि पूर्ण सत्यता नरहेको बताए । ‘हामीले जहाँ जहाँ उजुरी परेको छ र जहाँ मिलेको छैन् । त्यहाँ त्यहाँ सोधेका छौँ । सोधेका मात्रै होइनौँ चित्तब्ुझुदो जवाफ नआए त्यहाँको नेतृत्व परिवर्तन गर्नेसम्मको योजना बनाएका छौँ,’ उनले  भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *