सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनको कार्यान्वयन गराउन पहल गर्छु : स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौँ, ८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताएका छन् ।

बुधबार स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त आयोजनामा भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकमा उनले जुनसुकै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने बताएका हुन् ।

सूर्तिजन्य पदार्थको सेवनबाट बार्षिक रुपमा ठूलो संख्यामा मानिसको मृत्यु भएको जान्दा जान्दै पनि मानिसहरु यसको कुलतबाट बाहिर निस्कन नसकेको भन्दै अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने समेत बताए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले नसर्ने रोगको प्रकोप भयावह रुपमा बढदै गएको भन्दै यसलाई रोकथाम गर्नका लागि पनि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले अन्तरक्रियाबाट निस्कने निष्कर्षलाई हेरेर आवश्यक परेमा मन्त्रालयबाट थप कदम चाल्ने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो । उनले मासिक रुपमा कम्तीमा दुई अर्व रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको बताउँदै त्यो भन्दा बढी मानवीय क्षति पु¥याउने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्सेनि हजारौँ मानिसको अकालमा नै मृत्यु हुने गरेको बताए । यसको रोकथामका लागि नीतिमा थप संसोधन आवश्यक पर्न सक्ने भन्दै त्यसअघि अनुसन्धानको पाटोलाई अघि बढाउनुपर्ने बताए ।  उनले कोभिड भएका र चुरोट सेवन गर्नेमा जटिलता बढी हुने कुरा अनुसन्धानबाट पुष्टि भइसकेको भन्दै यसले गर्ने हानीकाबारेमा व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उनले परिषदले सूर्तिजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका अध्ययन् अनुसन्धानका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरैनै मानिसलाई हृदयघात हुने गरेको बताउनुभयो । उनका अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिए । उनका  अनुसार सबैभन्दा बढी हृदयघाट चुरोट सेवनबाट हुने गरेको छ ।  चुरोटको सेवनमा युवा मात्र नभई युवतीहरु पनि निकै अघि रहेको जनाउँदै यसले झनै चिन्ताको विषय थप गरेको बताए । उनले चुरोटको सेवन गर्ने महिलामा पुरुषको तुलनामा झनै बढी जोखिम हुने भन्दै चुरोट सेवन गर्ने पुरुषमा हृदयघात हुने सम्भावना ८ गुणा बढी भए जस्तै महिलामा त्यो भन्दा धेरै १३ गुणा बढी हृदयघातको सम्भावना हुने जानकारी दिए ।

द युनियन एसिया प्यासेफिक क्षेत्रीय निर्देशक डा तारासिंह बमले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून राम्रो भएपनि सरकारले त्यसको कार्यान्वनय राम्ररी गर्न नसकेको बताए । उनले कानून कार्यान्वयनका लागि व्यक्तिगत सामुहिक र राजनीतिक रुपमा समेत प्रतिवद्धता आवश्यक रहेको बताए ।उनले नीति बनाउँदा सुर्ती उद्योगलाई सहयोग पुग्ने गरी होइन कि जनस्वास्थ्यमा सहयोग पुग्नेगरी बनाउनुपर्नेमा जोड दिए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डव्लुएचओ एफसीटीसीको पक्षराष्ट्र भएको मुलुकले कानून सोही अनुसार नै बनाएपनि कार्यान्वयन तह फितलो भएको बताए ।  नेपाल सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एसियामै पहिलो भएको र कम करका कारण सूर्तिजन्य पदार्थको मूल्य सस्तो भएको र आम गरीव जनतामा यसको प्रयोगदर उच्च भएको बताए । उनले राज्यले बनाएको ऐन तथा निर्देशिकाले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था भएको भएपनि बर्षौ देखि स्वदेशी उद्योगले त्यसको कार्यान्वनय गर्न अटेरी गरेको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनकाेे नसर्ने रोग विभाग प्राविधिक अधिकृत  डा लोनिम दिक्षितले नेपालमा नसर्ने रोग नियन्त्रण गर्ने हो भने पहिलो स्टेपमा सुर्तीजन्य पदार्थमा नै नियन्त्रण गर्नुपर्ने जनाइन्। उनले त्यसका लागि पहिलो कुरा सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने र अर्को कुरा मल्टी सेक्टोरल अप्रोचबाट सबैले प्लेन प्याकिजङतर्फ जान सहयोग गर्नुपर्ने जनाइन्। उनले भनिन, ‘अब ९० प्रतिशत चेतावनीमूलक चित्रतर्फ अल्झिने भन्दा पनि प्लेन प्याकेजिङमै जानुपर्छ ।’

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएको बताउँदै राज्य पक्षबाट पनि यस्तै अपेक्षा राखेको बताए । उनले  मञ्चले विभिन्न समयमा विभिन्न संघसंस्थासंग सहकार्य गरी अन्तरक्रिया तथा ओरिन्टिेसन कार्यक्रम गरेको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्मा, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रकाशप्रसाद साह, स्वास्थ्य अर्थशास्त्री देवी प्रसाईं लगायतले आफ्ना प्रस्तुतिकरण र धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *