कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई जुम्लामा भव्य स्वागत

जुम्ला, ३ मंसिर । कामकाज रोग लगाउने सरकारको निर्णय उच्च अदालत पाटनले उल्ट्याईदिएपछि नियमित काममा फर्किएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल, रजिष्ट्रार नृपेन्द्र महत र डीन डा रमेश भट्टराई लगायतका टोलीलाई आज जुम्लामा भव्य स्वागत गरिएको छ ।

हवाई मार्ग हुँदे दिउसो एक बजे जुम्ला एयरपोर्ट पुगेका उनीहरुलाई स्थानीय तथा प्रतिष्ठानका कर्मचारीहरुले भव्य स्वागत गरेका हुन् ।

एयरपोर्टमा ओर्लने वित्तिकै उनीहरुलाई फुलमाला अविर खादा लगाइदिएर बाजागाजा सहित नगरपरिक्रमा गराउँदै प्रतिष्ठानको मुख्यालयमा पुर्‍याइएको थियो ।

‘खासगरी भर्खरै बामे सर्दै गरेको प्रतिष्ठानको विकासमा भाजो हाल्ने गरी सरकार लागेको थियो । त्यसलाई उच्च अदालतले गलत सावित गरिदियो । अहिलेका पदाधिकारीहरुकै जोडवलमा नयाँ कार्यक्रमहरु आइरहेको थियो । तर राजनीति दाउपेचमा अस्थिर बनाउन खोजिदै थियो । अदालतले त्यसलाई सच्याएको छ । त्यसैले पनि यो हामीसबैको लागि खुशीको कुरा हो,’ स्वागत गर्न एयरपोर्ट पुगेका एक जना सहभागीले भने ।

उपकुलपति डा रावलले अब प्रतिष्ठानले थप उचाईका साथ अघि बढ्ने बताए । उनले भने ‘बीचमा केही डिस्टर्व होला जस्तो भएको थियो । तर अब हामी आयौँ । नियमित रुपमा हाम्रा कार्यक्रमहरु अघि बढ्छन् । तोकिएको समयमै हामीले एमबीबीएस लगायत नयाँ कार्यक्रमहरु सुरु गर्दैछौँ ।’

प्रतिष्ठानका डीन डा भट्टराईले १९ मंसिर देखि जुम्लामा एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन हुने बताए । उनले एमबीबीएसमा १५ जना पूर्ण छात्रवृत्ति र पाँच जना शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए। प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *