बान्की नमिलेको डाक्टर

- नेपाली हेल्थ
– डा. उत्तम पच्या

चिकित्सा पेशामा लागेको चौध वर्ष भै सकेछ । यो अवधीमा नेपाल देख्न पाएँ, केही बुझ्न पाएँ, केही स्पर्श गर्न पाएँ । तर, अझै धेरै ज्ञान हासिल गर्न बाँकी नै छ ।

ज्ञानको लागि अध्ययन आवश्यक रहेछ, अझ त्यसलाई लिपिवद्ध गरी राख्न सकेमा सम्झना ताजा रही राख्दो रहेछ । ज्ञान अपरम्पार छ, अनन्त छ । तर, त्यसको लागि अध्ययनको निरन्तरता आवश्यक छ जस्तो लाग्छ । अनि जति अध्ययन बढाउँदै लग्यो उति नै ज्ञानको भण्डार ग्रहण गर्न बाँकी छ भन्ने अनुभूति हुँदो रहेछ ।

पेशाले म स्वास्थ्यकर्मी (चिकित्सक) । यो पेशामा लागेपछिका मेरा धेरै अवधी काठमाडौँ बाहिर कै स्वास्थ्य सेवामा समर्पित गरेँ । यसो गर्नुको पछाडी केही मेरो बाध्यता थियो र केही रहर पनि ।

चिकित्सक अर्थात डाक्टर भने पछि कतिपय मान्छेको दिमागमा अर्कै आकृति बस्दो रहेछ । जस्तो कि : अग्लो, आकर्षक, चस्मा लगाएको, गमक्क परेको, बोली चाली पनि अलि त्यस्तै त्यस्तै, आदि आदि ।

तर, म त्यस्ता कतिपय मान्छेले दिमागमा बनाएको आकृति जस्तो डाक्टर परिन । अझ भनौँ त्यस्तो आकृति सोचेकाहरुका लागि त मेरो बान्की नै मिलेको छैन । त्यसैले त धेरैलाई म डाक्टर हो भनि पत्याउन पनि गाह्रो हुन्छ ।

यस्तै केही प्रसंगहरु यहाँ प्रस्तुत गर्न चाहन्छु :

……………………………………………………………………….

सन् २००९ तिरको कुरा, मर्लिन भन्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा आवद्ध भै मेडिकल अधिकृतको रुपमा रोल्पामा काम गर्ने मौका पाएको थिएँ । त्यहाँ ९ जनाको स्वास्थ्य टिमलाई नेतृत्व गरी मेडिकल शिविर चलाउनु पर्थ्यो । मेरो टिम रोल्पाको पश्चिमी भेगमा हुन्थ्यो ।

जिनाबाङ, रांक, रान्कोट, पाछावाङ, पाखापानी, घर्तिगाँउ आदि । सो शिविरमा औषधी उपचार देखि ल्याब जाँच सम्म हुन्थ्यो । विशेष गरी आङ खसेका बिरामी, हर्निया हाइड्रोसिलका बिरामीको स्क्रिनिंग हुन्थ्यो र आङ खसेका बिरामीको उपचार गर्न नेपालगन्ज मेडिकल कलेजमा सम्पूर्ण सेवा निशुल्क उपचार सहयोग हुन्थ्यो संस्थाबाट र हर्निया हाइड्रोसिलका बिरामीलाई फिल्डमा विशेषज्ञ टिम लगी निशुल्क उपचार सहयोग गर्थ्यो संस्थाले ।

बाटोमा एक ठाँउबाट अर्को ठाँउमा जाँदा कुनै बेला ६ देखि १० घण्टासम्म पैदल हिड्नु पर्थ्यो । सोही क्रममा एक जना मेरै टिमको स्वास्थ्यकर्मीले भन्नु भयो( ‘डा’साब साह्रै साधारण, सरल भएर हिड्नु हुन्छ, सायद कन्फीडेन्ट भएर होला है यस्तो साधारण अवतारमा हिड्ने ?’ म मुसुक्क हाँसे ! त्यहाँ एक वर्ष सम्म काम गरेँ ।

पछि थाहा भयो त्यहाँका सरोकारवालाहरुले कसैले पनि म डाक्टर हो भनेर चिनेको वा पत्याएको रहेछन । जव एक वर्ष पछि मेरो विदाई कार्यक्रम भयो, त्यहाँ उपस्थित धेरै जनाले भने, ‘आवुई तपाँई साच्चिकै पो डाक्टर ?! हामीलाई त विश्वासै लागेको थिएन ।’

…………………………………………………………………………..

सन् २००९ तिरै मेरो एक जना मित्रको विहे थियो । काठमाडाँैबाट चितवन जन्ती जानु पर्ने । त्यहाँ मैले फोटो खिच्ने जिम्मा पाएँ । मैले जानी नजानी सबैको फोटो खिच्थे । सो क्रममा साथीहरुले डक्टर, डक्टर भनेर सम्बोधन गर्थे । मेरा मित्र अर्थात दुलाहाका मामालाई कौतुहलता जागेछ ।

फोटो खिच्ने मान्छेलाई किन डक्टर भनी जिस्काएको होला ? उहाँलाई यो पनि लागेछ कि सामान्य क्यामरामेनले आफ्नो निक नेम किन डाक्टर राख्या होला ? उहाँले सोधी हाल्नु भो, ‘तपाईंलाई साथीहरुले किन डाक्टर भनेर जिस्काएका ? के तपाईँ साच्चैको डाक्टर हो ? मैले मुन्टो हल्लाउदै हो भने भने । उहाँ छक्क पर्नुभयो ।

…………………………………………………………………………….

सन् २०११ – १२ तिर विश्व स्वास्थ्य संगठनको आइपिडी (Immunization preventable disease)  कार्यक्रम अन्तर्गत आवद्ध भएँ । कर्णालीका पाँच जिल्लाहरु सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु हेर्नु पर्थ्यो । यो कार्यक्रम अन्तर्गत खोपले रोकथाम गर्न सकिने रोगहरु पोलियो, दादुरा, जापानिज इन्सेफ़लाइटिस र नवजात शिशु धनुष्टंकारको खोज पड्ताल हुन्थ्यो भने खोप संचालन तथा तालिममा प्राविधिक सहयोग सरकारी स्वास्थ्यकर्मीलाई गर्नु पर्थ्यो । मेरो भेषभूषा अत्यन्तै साधारण हुन्थ्यो अझै पनि त्यस्तै हो । बाटोमा कहिलेकाही चिया खाजा खान विश्राम गर्थ्यौ । मेरो चालक चिटिक्क परेर कोट पाइन्ट लगाएर हिड्थे । तर मलाई चालक ठानेर पसलेहरुले उनलाई इंगित गर्दै सोध्थे, ‘उहाँलाई कहाँसम्म पुर्‍याएर ल्याउनु भो ?’ म मुसुक्क हाँसी जवाफ दिन्थे गन्तव्यको नाम लिएर ।

……………………………………………………………………………………….

सन् २०१५ मा जनरल प्राक्टिसमा एमडी गरे पछि फुङलिङ बजार ताप्लेजुङ जिल्ला अस्पतालमा काम गर्ने मौका पाएँ । मेरा मित्र पाँचथर जिल्ला अस्पतालमा मेसु थिए । उनले मलाई हाइड्रोसिल र हर्नियाको कार्यक्रम छ, दुई भाइ मिली अपरेसन गरौँ न भनी अनुरोध गरे ।

पाँचथरमा ६-७ ओटा केस गर्‍यौं । अपरेसन सकाए पछि चिया पिउदै सुस्ताउदै थियौँ, त्यहाँ डीएसपी साब आउनु भो ।  मेरा मित्रले डाक्टर उत्तम भनी परिचय गराए । डीएसपी साबले मुखै खोलेर भन्नु भो, ‘तपाइँ त डाक्टर जस्तो देखिनु हुन्न नि !’

‘धेरैले त्यस्तै भन्छन’ मैले हास्दै जवाफ दिएँ ।

………………………………………………………………………………………..

सन् २०१७ मा आफ्नै जिल्ला गुल्मीमा जिल्ला अस्पतालमा सेवा गर्ने मौका पाएँ, अझै सम्म निरन्तर छु । अस्पतालमा आएका एक जना सेवाग्राहीले फ्याट्ट भनिहाल्नु भयो तपाईँ नै डाक्टर उत्तम भनेर बाटोमा कसैले देखे भने चिन्दैनन् सायद । किन रु मैले प्रश्न गरें, उनले जवाफ दिए, किन भन्ने त मलाई पनि थाहा छैन, तर तपाँई यति सरल हुनुहुन्छ कि डाक्टर जस्तो नै लाग्दैन । म हाँसे मात्रै ।


Facebook Comment


थप समाचार