अढाई लाख डोज हैजाविरुद्धको खोप आइतबार आईपुग्दै

काठमाडौँ, २६ कात्तिक । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका अढाई लाख बढी बासिन्दाका लागि सरकारले ‘ओरल कलेरा भ्याक्सिन’ दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ लाख ५२ हजार ३६३ डोज ओरल कलेरा भ्याक्सिन आगामी आइतबार नेपाल आईपुग्ने बताएको छ ।

उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्कहुँदै नेपाल आउन लागेको हो।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले आइतबार खोप आइपुग्ने र ती खोपहरु एक साता भित्रै कपिलवस्तुका हैजाप्रभावित पाँचवटा पालिकाका स्थानीयलाई दिईने बताए । उक्त खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ।

केही साता अघि देखि कपिलवस्तुमा फैलिएको हैजा हालसम्म १ हजार ३६२ जनालाई देखिएको छ । जसमध्ये १ हजार ३५६ जना निको भएका छन् भने ६ जना उपचाररत छन्। ६ जनाको भने उपचार हुन नपाई ज्यान गएको छ ।

खोप लगाउने लक्षित समूह कहाँ कति ?
प्रवक्ता डा पौडेलका अनुसार कपिलवस्तु जिल्लाको कृष्णनगरमा ६० हजार ७४३, महाराजगञ्जमा ५३ हजार १५६ जना, शिवराज नगरपालिकामा ६४ हजार ७७८ जना, बिजयनगरमा ३५ हजार९०३ जना र यसोधरामा ३७ हजार७८३ जना गरी कुल २ लाख ५२ हजार३६३ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *