जनगणनामा विवरण लिन ४० हजार गणक तयारी अवस्थामा

काठमाडौं, २२ कात्तिक । तीन दिन पछि देशभर राष्ट्रिय जनगणना २०७८ सुरु हुँदै छ । हरेक दश दश वर्षमा हुने जनगणना यसपटक आगामी २५ कात्तिक देखि ९ मंसिरसम्म अर्थात १५ दिनसम्म हुँदैछ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार तीन दिन पछि सुरु हुने जनगणना कार्यका लागि करीव ४० हजार गणक तयारी अवस्थामा राखिएको छ । गणकलाई सुपरीवेक्षण गर्नका लागि ४ हजार ५०० संख्यामा सुपरीवेक्षकको व्यवस्था गरिएको छ ।

अघिल्ला जनगणनामा विद्यालयका शिक्षकहरु बढी मात्रामा गणकको रुपमा खटाइने गर्दथ्यो तर यसपटक स्थानीय तहका बेरोजगार युवाहरुलाई गणकको रुपमा प्राथमिकता पारिएको छ । त्यसमा महिला पुरुषको सख्या आधा आधा जस्तै रहेको महानिर्देशक श्रेष्ठले जानकारी दिए । उनले अघिल्ला जनगणनामा गणकको जिम्मेवारीमा खटाइएको शिक्षक समुदायलाई यसपटक सुपरीवेक्षक बनाई खटाइएको बताए ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले २५ कात्तिक देखि घर घरमा आउने गणकहरुले घरमुलीसंग विभिन्न प्रश्नावली सोधेर विवरण तयार गर्ने बताए । उनले भने, ‘गणकहरुले विवरण लिदाँ करीव ५५ वटा प्रश्नहरु सोध्नेछन् । त्यसमा पारिवारिक सदस्यको विवरण त हुने नै भयो, शिक्षा, आयआर्जन देखि ऋणधन सम्मको विवरण पनि सोध्न सक्छन्, सबैले एकीन विवरण दिनु होला ।’

उनले यी विवरण एकदमै गोप्य रहने भन्दै बाहिर जाने शंका नगर्न समेत आग्रह गरे ।

झुटो विवरण दिने वा जनगणनालाई प्रभावित पार्न खोजे २ महिना जेल
महानिर्देशक श्रेष्ठले जनगणना आफ्नो लागि हो भन्दै यसलाई सकारात्मकम रुपमा बुझेर सक्रियताका साथ सहभागी हुन अनुरोध गरेका छन् । तर आउने गणकहरुलाई सही विवरण उपलव्ध नगराउने, गराउन नचाहने वा अरुलाई समेत भड्काउने कार्य गरेमा कानून अनुसार २ महिना सम्म जेल सजाय हुनसक्ने बताए ।

उनले भने, ‘तर हामीले यस्तो सोचेका छैनौं कि हाम्रो कार्यक्रम अवरुद्ध होस वा अवान्चित गतिविधि होस र थुन्न परोस । हामीले त सबैलाई आव्हान गरेका छौँ । सबै सक्रियताका साथ जनगणनामा सहभागी हुनुहोस् ।’

सञ्चारकर्मीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न


यसैबीच राष्ट्रिय जनगणनाको सन्दर्भ पारेर मिडिया एक्सन नेपालले सोमबार सञ्चारकर्मीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय तथ्यांक विभाग, युएनएफपीए, युके एडको सहयोगमा आयोजित कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले राष्ट्रिय जनगणना र सञ्चारकर्मीको भूमिका बारेमा अवधारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, नम्रता शर्मा, युएनएफपीएका डा हसिना वेगम लगायतले आफ्ना धारणा राखेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *