आवासीय उपचार समेत नि:शुल्क हुने गरी नवलपुरमा सञ्चालनमा आयो क्षयरोग प्रेषण केन्द्र

कावासोती, १९ कात्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु अस्पताल हाता भित्र निर्माण सम्पन्न भएको १५ शैय्याको क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा आएको छ । बुधबार विशेष समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उद्घाटन गरेपछि सो केन्द्र सञ्चालनमा आएको हो ।

उक्त केन्द्रको नयाँ भवन दामियन फाउण्डेशन बेल्जियमको सहयोगमा गत बैशाखमै निर्माण सम्पन्न भएको थियो । तर कोभिड -१९ को दोस्रो ‘वेव’ देखा परेपछि अस्पतालले सो नयाँ भवनलाई कोभिड आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरेको थियो ।

फाउण्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाका अनुसार उक्त केन्द्र निर्माणका लागि करीब दुई करोड रुपैयाँ खर्च भएको छ ।

‘फ्रिफ्याव मोडल’मा ६ वटा व्लकमा तयार गरिएको उक्त भवनहरु  दुई वर्ष अघि नेपाल भ्रमणमा आएका बेला वेल्जियमकी राजकुमारी अष्ट्रिड र गण्डकीका तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

डा कोइरालाले २५ शैय्या क्षमताको उक्त भवनमा अहिले १५ शैय्या सञ्चालनमा ल्याइएको बताए । उनले उक्त केन्द्रमा एमडीआर टीवीका बिरामीहरुको आवासीय रुपमा निशुल्क उपचार हुने जानकारी दिए ।

यसैबीच उद्घाटन समारोहमा बोल्दै गण्डकीका मुख्यमन्त्री नेपालीले स्वास्थ्य जनताको मौलिक हक भएको स्मरण गर्दै नयाँ प्रेषण केन्द्रमा नि:शुल्क निदान तथा उपचार हुनु आफैमा उदाहरणीय भएको बताए ।

‘यस केन्द्रमा क्षयरोगका गम्भीर विरामीका लागि परीक्षण, भर्ना भएर गरिने उपचार सबै निशुल्क रहेछ, यो बास्तवमै नमूना कार्यक्रम पनि हो । अहिले दातृसंस्थाले यो अभियानमा सहयोग गरे पनि दीर्घकालिन रुपमा संघ प्रदेश र स्थानीय तह मिलेर यसलाई अघि बढाउनु पर्छ,’ उनले भने । मुख्यमन्त्री नेपालीले नमूना प्रेषण केन्द्र बनाइदिएकोमा फाउण्डेशनलाई धन्यवाद दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा विनोद विन्दु शर्माले क्षयरोगको अवस्था, उपचार व्यवस्थाको बारेमा चर्चा गरेका थिए । उनले मध्यविन्दुको प्रेषण केन्द्र देशमै उतकृष्ठ हुने बताए ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले प्रेषण केन्द्र भवन साच्चिकै नमूना भएको भन्दै यसबाट जनताले पाउने उपचार सेवा पनि नमूना होस भन्दै शुभकामना दिईन् । उनले कोभिडको दोस्रो ‘वेव’ बढ्दा प्रेषण केन्द्र भवनले आइसोलेसन केन्द्रको रुपमा निकै ठूलो काम दिएको समेत बताइन ।

राष्टिय क्षयरोग केन्द्रका निर्देशक डा प्रकाश प्रसाद साहले जिल्ला अस्पतालको हातामा सञ्चालित क्षयरोग प्रेषण केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्नका लागि खासगरी प्रदेश तथा स्थानीय तह लाग्नुपर्ने बताए । उनले संघ तथा केन्द्रबाट गर्नुपर्ने सहयोग गर्न आफूहरु तयार भएको बताए ।

अस्पतालका मेसु डा वीरबहादुर थापाले अस्पतालको विस्तारित सेवा अन्तरगर्त नयाँ प्रेषण केन्द्र सञ्चालनमा आएको भन्दै जनतालाई उपचारमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सामान्य क्षयरोगको उपचारका लागि सरकारले ओषधिहरु निशुल्क गरेको छ । तर आवासीय उपचार र जटिल विरामीका लागि चाहिने औषधिका लागि कतिपय ठाँउमा विरामीले समेत खर्च तिर्नुपर्ने अवस्था रहेको छ ।

फाउण्डेशनले नयाँ प्रेषण केन्द्रमा आवासीय उपचार सम्पूर्ण रुपमा निशुल्क हुने बताएको छ । यस केन्द्रमा गण्डकी लुम्बिनी र बागमती प्रदेशका कतिपय जिल्लाका बिरामीहरुले सहज रुपमा उपचार सेवा लिनसक्ने विश्वास गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *