मिसन अस्पतालद्धारा मातृशिशु सेवा कार्यक्रम पाल्पा अस्पताललाई हस्तान्तरण

672
Shares

पाल्पा, १८ कात्तिक । युनाइटेड मिसन अस्पताल पाल्पाद्वारा सञ्चालित मातृशिशु सेवा कार्यक्रम पाल्पा अस्पताललाई हस्तान्तरण गरिएको छ।

विगत २४ वर्षदेखि युनाइटेड मिसन अस्पतालको सहयोगमा पाल्पा अस्पतालको परिसरबाट मातृशिशु सेवा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।

सो कार्यक्रमअन्तर्गत आमा र बच्चाको नाम दर्ता, बच्चाको तौल लिने, गर्भवती आमाको स्वास्थ्य परीक्षण, सुत्केरीपछिको स्याहार र परामर्श, खोप कार्यक्रम, परिवार नियोजन परामर्श सेवा र साधन वितरण, प्रेषण सेवा, औषधि वितरण र सल्लाह, दैनिक स्वास्थ्य परीक्षण, शिक्षा, रिर्पोट र रेकर्डिङलगायतको सेवा प्रदान गर्दै आएको युनाइटेड मिसन अस्पतालले जनाएको छ।

नेपाल सरकारको नीतिअनुसार जिल्लाको सरकारी अस्पतालले मातृशिशु सेवा कार्यक्रम सञ्चालन गर्ने निर्देशनानुसार नै पाल्पा अस्पतालले यो सेवा सञ्चालन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जगदीश कुँवरले बताए। तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले पाल्पा अस्पताललाई मातृशिशु सेवा कार्यक्रम सञ्चालन चुनौती र अवसर दुवै भएकाले सोहीअनुसारको सेवा प्रदान गर्नुपर्ने बताए। उनले मातृशिशु सेवा कार्यक्रमलाई अरुले प्रश्न गर्ने नसक्ने गरी अझै प्रभावकारी सेवा दिनुपर्ने बताए।

पाल्पाका सहायक प्रजिअ शशिधर घिमिरेले हालको सेवाभन्दा मातृशिशु सेवालाई थप सुधार गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले मातृशिशुको स्वास्थ्य संवेदनशील भएकाले गम्भीर भई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

युनाइटेड मिसन अस्पताल समुदाय स्वास्थ्य विभाग प्रमुख पार्वती गौतमले विसं २०११ मा तानसेनमा स्थापना भएको युनाइटेड मिसन अस्पताल सञ्चालन भएदेखि नै तानसेनको मेहलधारा, टक्सारटोलमा टाउन क्लिनिकमार्फत मातृशिशु सेवा प्रदान गर्दै आएको बताए। यस कार्यक्रमले पाल्पाका मातृशिशुको स्वास्थ्य जोखिम न्यूनीकरण हुँदै आएको छ।

नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति वुद्धिप्रसाद शर्माले युनाइटेड मिसन अस्पतालबाट सञ्चालित मातृशिशु सेवा अब पाल्पा अस्पतालबाट प्रवाह हुँदा यसबाट कोही पनि बञ्चित हुनुपर्ने अवस्था नआउने बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *