बाल स्वास्थ्यसंग सम्वन्धित विषयमा अध्ययन अनुसन्धान गर्न एनएचआरसी र किओचबीच सम्झौँता

काठमाडौँ, १० कात्तिक । बच्चाहरुमा देखिने स्वास्थ्य सम्वन्धी समस्याका विस्तृत अध्ययन अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बीच सम्झौंता भएको छ ।

बुधबार परिषदमा आयोजित कार्यक्रममा कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवाली र किओचका तर्फबाट अध्यक्ष प्राडा भगवान कोइरालाले सम्झौँता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौँता चार वर्षे अवधीको हो ।

हस्ताक्षरपछि बोल्दै परिषद्का सदस्यसचिव डा ज्ञवालीले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा काम गर्न अघि सर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुसंग मिलेर अध्ययन अनुसन्धानलाई अघि बढाउने आफ्नो संस्थाको ध्येय रहेको बताए । उनले बाल स्वास्थ्यका विषयमा अध्ययन अनुसन्धान साथै उपचार गर्ने बृहत योजनाका साथ अघि बढेको किओचसंग मिलेर बाल स्वास्थ्य तथा बाल रोगका विषयमा अध्ययन अनुसन्धान गर्न खोजिएको बताए ।

किओचका अध्यक्ष प्राडा कोइरालाले किओचका चारवटा पिलर मध्य अध्ययन् अनुसन्धान एउटा महत्वपूर्ण पिलर रहेको भन्दै सोही आधारमा परिषद्संग मिलेर अनुसन्धानका कार्यहरु अघि बढाउन खोजेको बताए । उनले यो सम्झौतापछि बाल स्वास्थ्यको अवस्था, रोगहरु, बाल स्वास्थ्यका समस्या न्युनिकरण गर्नका लागि बनाउनुपर्ने आवश्यक नीति नियमका कुराहरुलाई पनि सहयोग पुग्ने बताए ।

‘हामीले यसअघि नै एनएचआरसीसंग मिलेर बच्चाहरुमा नसर्ने रोगको अवस्था कस्तो छ भनेर अध्ययन गरिसकेका छौँ । त्यसको नतिजा अब छिटै सार्वजनिक गर्ने क्रममा छौँ । अब बच्चाहरुमा देखिने सबै खाले रोगहरु अर्थात स्वास्थ्य समस्याका बारेमा अध्ययन अनुसन्धान गर्नेछौँ । यसले सरकारलाई नयाँ नीति बनाउन पनि मद्धत पुग्नेछ,’ उनले भने ।

गैरसरकारी संस्थाको रुपमा स्थापित किओचले अध्ययन अनुसन्धान, उपचारात्मक सेवालाई संगसंगै अघि बढाउँदै छ । केन्द्रमा २०० बेड र प्रदेशहरुमा १०० बेडको बालरोग अस्पताल सञ्चालनमा ल्याउँदै छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *