डोटी,अछाम र बाजुरामा औषधि अभाव

डोटी, १० कात्तिक । एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ। बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ ।

यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाले सडक अबरुद्ध भएपछि अस्पतालमा औषधि अभाव भएको जानकारी दिए। उनले भने, “अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एक÷दुई दिनमै ढुवानी नभए औषधिको समस्या हुने देखिन्छ ।”

जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ। पचास शय्याको सुजङ अस्पताल राजपुरमा पनि दुई दिनका लागि मात्रै औषधि रहेको उक्त अस्पतालका निर्देशक अर्जुन बलायरले जानकारी दिए। जिल्लामा अस्पताल मात्र नभई यहाँका गाउँपालिकाहरूमा पनि औषधि अभाव रहेको पाइएको छ ।

गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या उत्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। उनले भने, “हाम्रो पालिकामा औषधि सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधि आयात गर्न सक्ने अवस्था पनि रहेन औषधिको अभाव भएको छ ।”

स्वास्थ्यकर्मीका अनुसार यहाँका पहाडी जिल्लाहरुमा बाढीपहिरापछि पानीमा प्रदूषित भएपछि फैलन सक्ने रोगहरू नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्दै आएका औषधिको मुख्यरुपमा अभाव देखिएको छ ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *