स्वास्थ्य मन्त्री खतिवडा र राज्यमन्त्री खापुङलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदको ब्रिफिङ

काठमाडौँ, ९ कात्तिक । स्वास्थ्य मन्त्री विरोध खतिवडा र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल स्वास्थय अनुसन्धान परिषदको काम कारवाहीबारे ब्रिफिङ लिएका छन् । सोमबार दिउसो परिषदको कार्यालयमा पुगेर उनीहरुले ब्रिफिङ लिएका हुन् ।

मन्त्रीद्धयलाई परिषदका कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले कार्यालयको गतिविधि, अवस्था र भावी योजनाका बारेमा जानकारी गराएका थिए । उनले स्वास्थ्यको कुल बजेटको २ प्रतिशत अनुसन्धानको क्षेत्रमा छुट्याउनुपर्ने भएपनि अहिले त्यसको करीव आधा हिस्सा मात्रै परिषदले पाएको भन्दै मन्त्रीद्धयको ध्यानाकषर्ण गराएका थिए ।

स्वास्थ्य मन्त्री खतिवडाले ब्रिफिङ सुनिसकेपछि मन्त्रिपरिषदको बैठकमा जान ढिलाई भएको भन्दै बीचमै निस्किएका थिए । त्यसक्रममा उनले आफ्नो सम्वोधन राज्यमन्त्री खापुङले गर्ने र थप महत्वपूर्ण जानकारी भए राज्यमन्त्री मार्फत नै आफूलाई जानकारी आईहाल्ने बताएका थिए ।

राज्यमन्त्री खापुङले भने स्वास्थ्य क्षेत्रको विकासका लागि अनुसन्धान जरुरी रहेको र यसको लागि परिषदको दायित्व निकै महत्वपूर्ण हुने बताएका थिए । उनले आफूहरु स्वास्थ्य मन्त्रालयमा नयाँ नै भएको भन्दै बुझ्ने क्रममै रहेको जानकारी दिए ।

भर्च्युअल रुपमा कार्यक्रमको अध्यक्षता गरेका परिषदका अध्यक्ष प्राडा गेहनाथ बरालले पछिल्लो समय परिषदले गरेका अनुसन्धानले स्वास्थ्यका नीति योजनामा समेत सहयोग पुगेको बताएका थिए । कार्यक्रममा अनुसन्धान अधिकृत डा मेघनाथ घिमालले स्वागत मन्तव्य राखेका थिए ।

सो अवसरमा मन्त्रीद्धयलाई परिषदले स्वागत समेत गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *