डा. बिच्छाको म्याद थपप्रति सरकारी चिकित्सक संघको आपत्ति

काठमाडौँ, २२ असोज । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक डा. आरपी बिच्छाको २ बर्ष म्याद थप गर्ने सरकारको निर्णय प्रति सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आपत्ति जनाएको छ । उसले तत्काल निर्णय सच्याउन सरकारसंग माग गरेको छ ।

विहीबार गोदानका अध्यक्ष डा रविन खड्का र महासचिव डा किर्तिपाल सुवेदीले विज्ञप्ती जारी गर्दै विना कुनै कारण सेवा म्याद अवधी थप गरेको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘कुनै विशेषज्ञको विज्ञता राष्ट्रलाई आवश्यक भएकोमा निजको सेवा अवधी थप गर्नु र निजको विज्ञताको सदुपयोग गरिनु स्वागत लायक हुनसक्छ । तर विज्ञताको नाममा कार्यकारी पद नै सुम्पिन खोज्नु हास्यास्पद एवं गलत मनसायपूर्ण छ । यसले महानिर्देशक हुन योग्यता पुगेका अन्य कर्मचारीलाई निराश र निरुत्साहित मात्र पारेको छैन कि अनुभव, लक्ष्य पद्धति आदि सबैको धज्जी उडाएको छ ।’

गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा विच्छाको सेवा अवधी दुई बर्ष थप्ने निर्णय गरेको थियो । त्यसअघि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा (२) लाई टेकेर म्याद थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

६० बर्षे उमेर हदका कारण ६ कात्तिकमा अनिवार्य अवकाश पाउन लागेका डा विच्छालाई प्रधानमन्त्री शेरबहादुर पत्नी आरजुको दवावमा थप दुई बर्ष महानिर्देशक बनाउने योजनाका साथ म्याद थप गरिएको आरोप लागेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *