एकीकृत समाजवादीले किन दावी गर्‍यो स्वास्थ्य मन्त्रालय ?

काठमाडौँ, २१ असोज । अहिलेसम्म नेपाली कांग्रेसले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजबादी पार्टीले पाउने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको विहीबार बसेको बैठकले स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो ।

समाजवादीले प्रभावशाली मन्त्रालय नपाएको भन्दै पार्टी भित्र र बाहिर आलोचना भएपछि विहीबार बैठकमा भागवण्डालाई पुन संसोधन गरिएको हो ।

‘यो सरकार गठन हुनुमा सबैभन्दा मूख्य भूमिका खेलेको पार्टीलाई छोडुवा मन्त्रालयमा थन्क्याउने जस्तो देखियो । त्यसमा हामीले पार्टीको गम्भीर ढंगले ध्यानाकर्षण गरायौ । आजको बैठकले कम्तीमा स्वास्थ्य दिने निर्णय गरेछ,’ नेकपा एसका एक जना नेताले बताए ।

उनका अनुसार स्वास्थ्य यतिवेलाको महत्वपूर्ण मन्त्रालय भएको, स्वास्थ्यमा राम्रो काम गर्न सके घर घर र व्यक्ति व्यक्तिसम्म यसको प्रभाव पर्ने भएकोले नयाँ जनाधार बनाउन पनि सहयोगी हुने भएकोले स्वास्थ्य रोजिएको हो ।

‘गाँउ र वडा तहसम्म स्वास्थ्यको प्रभाव पर्छ । धनी होस वा गरीव स्वास्थ्य जोडिएकै हुन्छ । कोरोना महामारी नियन्त्रणउन्मुख छ । खोपको कभरेजदर बढदो छ, खोप खरीदको सुनिश्चितता पनि भईसकेको छ । स्थानीय तहसम्म अस्पतालहरु बन्दैछन् । अब विवादित काम गर्नु पर्ने अवस्था पनि छैन । चुनौती अघिल्ला मन्त्रीहरुले बेहोरे । अब आउने मन्त्रीले भाषण गर्ने र रिवन काटने काम मात्रै राम्ररी गरे पनि यत्तिकै हाईहाई हुन्छ, त्यसैले पनि हामीले नेतृत्वलाई लिन स्वास्थ्य मन्त्रालय लिन दवाव दिई रहेका थियौँ,’ पार्टीका स्वास्थ्यसम्वद्ध एक जना चिकित्सकले बताए ।

विहीबारको बैठकमा समाजवादीका अध्यक्ष नेपालले मन्त्रालयको भागवण्डामा आफूहरुलाई चित्त नबुझेको बताएका थिए । उनले कम्तीमा स्वास्थ्य मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान राखेका थिए । उनको अडान पछि शीर्ष नेताहरुले स्वास्थ्य दिन सहमत भएका हुन् ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले स्वास्थ्यसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने टुगो लागेको बताए । तर उनले सरकारमा सहभागी हुने मन्त्रीको नाम भोलि (शुक्रबार) मात्रै टुंगो लाग्ने जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै सरकार बिस्तार गर्ने योजना बनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *