कृष्णनगरमा झाडापखालाको प्रकोप, केन्द्रबाट औषधिसहितको स्वास्थ्यकर्मीको टोली पुग्दै

काठमाडौँ, २१ असोज । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा फैलिएको झाडापखला नियन्त्रण व्यवस्थापन तथा थप अनुसन्धान गर्न केन्द्रबाट औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिहरुको टोली औषधि सहित त्यस क्षेत्रमा परिचालन गरिएको हो ।

गत सोमबारबाट कृष्णनगरनगरपालिकाको वडा नं ३,४,७, ८,९ र १२ नम्बर वडामा झाडापखाला तथा बान्ताका विरामीहरु देखिएको थियो । महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार आज विहान ९ बजेसम्म ३७० जनालाई भर्ना गरी उपचार गरिएको थियो । त्यसमध्ये २२८ जना डिस्चार्ज भईसकेका छन् । बाँकी ११० जना उपचाररत रहेकोमा ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ ।

५ जना बिरामीको दिशाको नमूना संकलन गरी परीक्षण भइरहेको र नतिजा आउन बाँकी रहेको समेत डा पौडेलले बताए ।

डा पौडेलले महाशाखाबाट इपिडेमियोलोजिस्ट डा। शशी कडेल , कोशलचन्द्र सुबेदी र विश्व स्वास्थ्य संगठनबाट डा. रबिन गौतमको टोली त्यसतर्फ प्रस्थन गरेको जानकारी दिए ।

त्यसो त यसअघि देखिनै प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा स्थानीय तहबाट प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालयहरुका प्रतिनिधि र स्वास्थ्यकर्मीहरु मिलेर नियन्त्रण तथा व्यवस्थापनको प्रयास भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *