एप्समा जोडिदै देशभरका एम्बुलेन्स, सेवा अब ‘पठाओ’को जस्तै

काठमाडौँ, २० असोज । सरकारले देशभर सञ्चालनमा रहेका एम्बुलेन्सहरु एउटै एप्समा जोडदैछ । एप्समा जोडिएपछि जीपीएस जडित ती एम्बुलेन्सहरु कहाँ छ देखि कहाँ पुग्न कति लाग्छ भन्ने जानकारी सेवाग्राहीले पहिल्यै थाहा पाउँछ ।

‘अहिले एप्स निर्माणको अन्तिम चरणमा पुगेको अवस्था छ । त्यसपछि देशभरकै एम्बुलेन्स एप्समा जोडिन्छन् । त्यसपछि नजिकको एम्बुलेन्सलाई सम्पर्क गरी सहज र छिटो सेवा लिन सकिनेछन् ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने ।

उनले मन्त्रालय बनाएको एप्स सञ्चालनमा आएपछि पछिल्लो समय काठमाडौँ उपत्यकामा लोकप्रिय भएको पठाओ टुटलमा बुकिङ गरेजस्तो गरी एम्बुलेन्स पनि बुकिङ र सेवा लिन सजिलो हुने बताए ।  उनले यो एप्स अव छिटै नै लञ्च हुने समेत जानकारी दिए ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले हरेक एम्बुलेन्समा जीपीएस अनिवार्य रुपमा जोडिएको हुनुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाले एक ठाँउबाट अर्को ठाँउमा पुग्ने भाडा समेत पहिल्यै निर्धारण गरिदिएको हुन्छ । ‘भाडा कति हो भन्ने झन्झट हुने भएन । नजिकको एम्बुलेन्स कहाँँ छ भनेर सेवा लिनेलाई पनि ढुक्क भयो । एक अर्थमा भन्दा अहिले उपत्यकामा चलेका पठाओ र टुटल जस्ता सेवाप्रदायक संस्थाहरु जस्तै गरी एम्बुलेन्स चल्नेछन्,’ डा. अधिकारीले भने ।

डा अधिकारीले एप्ससंग अहिले नेपाल एम्बुलेन्स सर्भिसले चलाएको १०२ नम्बर पनि देशभरका लागि साझा नम्बर हुने व्यवस्था गर्न लागिएको बताए ।

अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाहरुरमा १०२ नम्बरमा सम्पर्क गरी एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था छ । यस्तै लुम्बिनी प्रदेशले पनि आफ्नो प्रदेशमा १०२ नम्बरलाई एम्बुलेन्सको आपतकालिन नम्बरको रुपमा सञ्चालनमा ल्याएको छ ।  ‘यो नम्बर अव देशभरी एम्बुलेन्स खोजीका लागि नै प्रयोग हुन्छ,’ डा अधिकारीले भने ।

यता निर्देशिकाले नेपालमा अब देखि ‘क’ र ‘ख’ बर्गका मात्रै एम्बुलेन्स चल्न पाउने व्यवस्था गरेको छ । अहिले उपत्यका सहित सहरी तथा ग्रामिण क्षेत्रमा चल्ने अधिकांश एम्बुलेन्स ‘ग’ बर्गका हुन् ।

यस्तै निर्देशिकाले एम्बुलेन्स सञ्चालन गर्ने निकाय स्वास्थ्य संस्था हुनुपर्ने बताएको छ । अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाका नामा खुलेका प्रतिष्ठानहरुबाट पनि धमाधम एम्बुलेन्स सञ्चालन हुँदै आएका थिए । डा अधिकारीले अहिले बनेको निर्देशिकामा स्पष्ट ढंगले स्वास्थ्य संस्था लेखिएको बताए । उनले त्यसरी गैर स्वास्थ्य संस्थाको नाममा दर्ता गरी सञ्चालन भएका एम्बुलेन्सको विषयमा केही समयका लागि विशेष निर्णय हुनसक्ने बताए ।

निर्देशिकामा क वर्गको एम्बुलेन्स रातो रंगको हुनुपर्ने र ख वर्गको एम्बुलेन्स पहेलो रंगको हुनुपर्ने व्यवस्था छ । क बर्गको एम्बुलेन्समा आइसीयू र भेन्टिलेटरस सहितको सुविधा हुन्छ । ख वर्गको एम्बुलेन्समा त्यो भन्दा केही कम तर अत्यावश्यक सुविधाको व्यवस्था मिलाइएको छ ।

नेपालमा एम्बुलेन्स सेवा सुरु भएको २०४३ साल देखि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस यता २ हजार १ सय बढी एम्बुलेन्स दर्ता भएको उल्लेख छ । तर एम्बुलेन्स १० बढी पुरानो भएमा चलाउन पाइने छैन् । १० बर्ष नकटेको एम्बुलेन्सको संख्या १ हजार ३६४ रहेको डा अधिकारीले बताए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *