हुक्का तथा शिशा सेवनको भ्रम र बास्तविकता

– डा. सरोज श्रेष्ठ

हिजोआज खासगरी शहर बजारमा युवामाझ हुक्का सेवन गर्ने फेसन चलेको छ । चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुका कारण युवा पुस्ता यसप्रति आकर्षित भएका हुन् ।

हिजो आज त झन् युवाहरुमा रेष्टुरेन्ट तथा बार गएर हुक्का सेवन गरेका ‘खतरा’ तस्बिर राख्ने प्रतिस्पर्धा नै चलेको जस्तो देख्न सकिन्छ । जसले आम बालबालिकाको सोचाईमा कति असर गर्छ भन्ने हेक्का नै राखेको पाइदैन ।

कतिपय ठाँउ तथा समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरेको समेत देख्न सकिन्छ ।

के मानव स्वास्थ्यलाई चुरोटले भन्दा हुक्काले कम असर गर्ने हो ?

होइन, एक पटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ चुरोट सेवन गर्नु जस्तै हो। एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा चुरोट सेवन गर्नु बराबर हुन्छ। हुक्कामा निकोटिन, भारी धातु, कारबनमोनोअक्साइड, कारसिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ।

अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढनुका साथै फोक्सो सम्बन्धी रोग, अन्य विविध रोगहरु जस्तै मुख, अन्ननली, फोक्सो, मूत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटु सम्बन्धी रोग गराउँछ।

धुम्रपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना, धुम्रपान नगर्ने व्यक्ति भन्दा २ देखि ३ गुणा बढी हुन्छ। निष्क्रिय धुम्रपान (प्यासिभ स्मोकर) गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।

धुम्रपानको असरहरू :

  • विभिन्न क्यान्सर, फोक्सो, मुटु सम्बन्धी रोग, निकोटिन निर्भरता, मनोवैज्ञानिक असर, उच्च रक्तचाप, मधुमेह, एथेरोस्क्लेरोसिस, क्षयरोग
  • शुक्राणुको संख्या, गुणस्तर घट्नु, पुरुष बाँजोपन
  • वातावरण प्रधुषण
  • गर्भावस्थामा धुम्रपान गर्दा समयपूर्व बच्चा जन्मनुका साथै नवजात शिशुको मृत्यु हुन्छ।

धुम्रपान त्याग्ने उपायहरू:

  •  धुम्रपानको तलतल लाग्दा पानी पिउने
  •  स्वास्थ्य खानपान साथै दैनिक शारीरिक व्यायाम गर्ने
  •  मदिरापान त्याग्ने
  • प्रयाप्त ६ देखि ८ घण्टा सुत्ने
  • स्वास्थ्य विज्ञबाट सल्लाह र सुझाव लिने
  • धुम्रपानले स्वास्थ्यमा पार्ने असरको जनचेतना फैलाउँदै, हुक्का सेवन, धुम्रपान परित्याग गर्दै गम्भीर तथा तीव्र रोगहरूबाट बाँचौ र अरूलाई बचाउँ।

# डा. श्रेष्ठ कायरो विश्वविद्यालयको कसर अल ऐनि हस्पिटल कायरो, इजिप्टमा इन्टनसिप गर्दै छन् । साथै उनी एसोसिएसन अफ नेपालीज मेडिकल इस्टुडेन्ट  इजिप्टको अध्यक्ष हुन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *