विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १५औँ राष्ट्रिय शल्यचिकित्सक सम्मेलन सम्पन्न

५०० भन्दा बढीको सहभागिता
0
Shares

विराटनगर १३ मंसिर ।  विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’ सम्पन्न भएको छ।

‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि : नवप्रवर्तन, प्रविधि र सहकार्य’ भन्ने नाराका साथ मंसिर १० देखि १२ गतेसम्म सञ्चालन भएको उक्त सम्मेलन नेपाल शल्यचिकित्सक समाज, कोशी प्रदेश शाखाको आयोजना तथा केन्द्रीय समाज, काठमाडौँको सहकार्यमा सम्पन्न भएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको विशिष्ट आतिथ्यमा सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको थियो।

समारोहमा एसएसएनका अध्यक्ष प्रा. डा. रोबिन जोशी, निवर्तमान अध्यक्ष तथा वैज्ञानिक समितिका अध्यक्ष डा. रोमियो कंसाकार, महासचिव डा. सुमिता प्रधान, आयोजक समितिका अध्यक्ष प्रा. डा. रोहितप्रसाद यादव र आयोजक सचिव प्रा. डा. राकेश कुमार गुप्तालगायतको उपस्थिति थियो।

सोही अवसरमा मुख्यमन्त्री कार्की र डा. रोबिन जोशीले सम्मेलनको स्मारिका तथा जर्नल विमोचन गरेका थिए।

समारोहमा नेपालका वरिष्ठ शल्यचिकित्सकद्वय डा. सुनिलचन्द्र अधिकारी र प्रा. डा. निलाधर हाडकेलाई सम्मान गरिएको थियो। त्यसैगरी विशेष अतिथि प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि सम्मान प्रदान गरिएको थियो।

सम्मेलनको उद्घाटन समारोहमा विभिन्न विधाका पुरस्कारसमेत वितरण गरिएको थियो। उत्कृष्ट पोस्टर पुरस्कार डा. अश्विन लम्साल, उत्कृष्ट रेजिडेन्ट पुरस्कार डा. हरिहर देवकोटा र उत्कृष्ट युवा शल्यचिकित्सक पुरस्कार डा. शिशिर देवकोटाले प्राप्त गरे।

सम्मेलनमा पहिलोपटक आयोजना गरिएको न्यूनतम चिरफारमा आधारित शल्यक्रिया (एमआईएस) च्याम्पियनसिपअन्तर्गत ल्याप्रोस्कोपिक स्युचरिङ प्रतियोगितामा नौवटा कलेज तथा अस्पतालले सहभागिता जनाएका थिए।

प्रतियोगितामा विराट मेडिकल कलेजका डा. तिलक डाँगी, डा. अबिरल कटुवाल र डा. सुबास थापाको टोली प्रथम भयो। बी एन्ड बी हस्पिटलका डा. सौजन्य जंग पाण्डे, डा. मनिष महासेठ र डा. नितेश महर्जनको टोली द्वितीय भयो।

रेजिडेन्ट्स बेस्ट पेपर अवार्डतर्फ काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटलका डा. सरोजकुमार भगत प्रथम भए। चितवन मेडिकल कलेजका डा. राजेन्द्र ढकाल द्वितीय र पोखरा एकेडेमी अफ हेल्थ साइन्सेसका डा. रणवीर यादव तृतीय भए।

पोस्टर प्रस्तुतीकरणतर्फ महाराजगञ्ज मेडिकल क्याम्पस (टीयूटीएच, आईओएम) का डा. मिलन अधिकारी प्रथम, चितवन मेडिकल कलेजका डा. विवेककुमार दास द्वितीय र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका डा. विशाल कुँवर तृतीय भए।

युवा सर्जन्स अवार्डतर्फ बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलका डा. महेशमणि अधिकारी प्रथम, चितवन मेडिकल कलेज टिचिङ हस्पिटलका (सीएमसीटीएच) डा. बसन्तकुमार यादव द्वितीय र धुलिखेल हस्पिटलका डा. अरुण ज्ञवाली तृतीय भए।

तीन दिनसम्म सञ्चालन भएको सम्मेलनको पहिलो दिन मंसिर १० गते पूर्वसम्मेलन कार्यशाला आयोजना गरिएको थियो।

कार्यशालामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया र मलद्वारसम्बन्धी रोगको उपचारका विषयमा व्यावहारिक तालिम प्रदान गरिएको थियो। साथै, पेटको क्यान्सर तथा कलेजोको शल्यक्रियाको तयारीका विषयमा विज्ञहरूसँग अन्तरक्रिया गरिएको थियो।

त्यसैगरी, मंसिर ११ र १२ गते सञ्चालन भएको मुख्य वैज्ञानिक कार्यक्रममा अनुसन्धानपत्र तथा ई-पोस्टर प्रस्तुतीकरण, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्रहरू समावेश थिए। कार्यक्रममा हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरीसम्बन्धी विषयमा छुट्टाछुट्टै सत्र सञ्चालन गरिएका थिए।

साथै, रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगजस्ता नवीनतम विषयमा समेत गहन छलफल भएको थियो।

अनुभवी तथा युवा शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आपसी सहकार्य अभिवृद्धि गर्ने र नेपालमा शल्यचिकित्सा सेवाका चुनौती तथा सम्भावनाबारे गहन छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियालगायत विभिन्न देशका ५०० भन्दा बढी शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सकहरूको सहभागिता रहेको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *