प्रत्यारोपण केन्द्रमा डा. पुकारको पहिलो साता : पाँच जनाको मिर्गौला प्रत्यारोपण

फाइल फोटो

काठमाडौँ, १५ असोज । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्व डा. पुकारचन्द्र श्रेष्ठले सम्हालेपछि मिर्गौला प्रत्यारोपणले पनि गति लिएको छ । गत ७ असोजमा प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक भएका डा श्रेष्ठको नेतृत्वमा १४ असोजसम्म पाँच जनाको मिर्गौला प्रत्यारोपण भईसकेको छ ।

‘मेरो योजना सातामा कम्तिमा पाँच जनाको प्रत्यारोपण गर्ने र वर्षमा २०० बढीको प्रत्यारोपण गर्ने भन्ने हो । एक साता अघि जिम्मेवारी सम्हाले यता हामीकहाँ ५ जनाको सफल प्रत्यारोपण भएको छ । यसलाई सुखद सुरुवात मान्नुपर्छ,’ डा. श्रेष्ठले भने । उनका अनुसार १० असोजमा २ जनाको प्रत्यारोपण भएको थियो भने ११, १३ र र १४ असोजमा एक एक जनाको प्रत्यारोपण भएको थियो ।

यो साता भएको प्रत्यारोपणमा गुल्मीका ३३ वर्षका पुरुषलाई उनका ५८ बर्षका ससुराले मिर्गौला दान गरेका थिए । डडेल्धुराका २९ वर्षका पुरुषलाई उनकी ५१ बर्षकी आमाले मिर्गौला दान गरेकी थिइन । यस्तै सिन्धुलीका ३६ वर्षका पुरुषलाई ३४ बर्षकी बुहारीले, भक्तपुरका ३७ वर्षका पुरुषलाई ३६ बर्षीया श्रीमतीले र बाराका २५ वर्षकी महिलालाई ५० बर्षीया आमाले मिर्गौला दान गरेकी हुन् ।

‘हामीले यो साता नै डवल गरेर पनि अझ केही प्रत्यारोपण गर्न सक्थ्यौँ । तर प्रत्यारोपण गर्नु अघिको कानूनी तथा अन्य तयारी गर्न बाँकी भएकोले रोकिएको हो,’ उनले भने ।

यसअघि केन्द्रको निर्देशक प्राडा प्रेमराज ज्ञवाली थिए । पछिल्लो समय उनले सातामा तीनवटासम्म प्रत्यारोपण गरेको प्रत्यारोपण केन्द्र स्रोतले बतायो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा फर्किएका छन् ।

तर डा. श्रेष्ठ आइसकेपछि बिरामी र तीनका आफन्त प्रत्यारोपणले गति लिनेमा विश्वस्थ देखिन्छन् ।

‘डा पुकारको धेरै नै नाम सुनेका हौँ । उहाँ आएपछि छिटो र राम्रोसंग काम हुन्छ भन्ने विश्वस्थ छौँ,’ बाबुको मिर्गौला प्रत्यारोपण गर्न केन्द्रमा पालो पर्खिएको बताउने शर्मिलाले भनिन् ।

डा श्रेष्ठले भने अवको आफ्नो योजना मस्तिष्क मृत्यु भएकाहरुको अंग झिकेर प्रत्यारोपण गर्ने कार्यलाई अघि बढाउने बताए ।

‘विदेश तिर यस्तो प्रत्यारोपणमा अधिकांश मस्तिष्क मृत्यु भएकाहरुले दान गर्ने अंगबाट गरिन्छ । हामीकहाँ पनि कानून बनेको छ , केहीले त्यसरी दान गरेर सफल प्रत्यारोपण पनि भएको छ तर जनचेतनाको अभावमा त्यसले गति लिन सकेको छैन् । अव यसलाई अघि बढाउने योजना बनाएको छु,’ डा. श्रेष्ठले आफ्नो प्राथमिकता सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *