कोरोना भाइरसको ‘जीन सिक्वेन्सिङ’ अब नेपालमै
काठमाडौँ, ११ असोज । कोरोना भाइरसको जिनोमिक सिक्वेन्सिङ अर्थात भाइरसको जीन पत्ता लगाउने परीक्षण नेपालमै सुरु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा जीन सिक्वेन्सिङ सुरु भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ र त्रिवि केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ वटा गरी ४२ वटा नमुनाको जीन सिक्वेन्सिङ समेत भइसकेको छ। जीवन सिक्वेन्सिङ गरिएका सबै नमुनामा ४१ वटामा डेल्टा भेरियन्ट र गत वैशाखाको एउटा ‘एस’ जीन नेगेटिभ भएको नमुनामा अल्फा भेरियन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन ।
उनका अनुसार ४१ वटा नमुना भदौ र असोज महिनामा संकलन भएका हुन्। जीन सिक्वेन्सिङका लागि जनस्वास्थ्य प्रयोगशालालाई विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र एफएचआइ- ३६० र त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेका छन्।
यसअघि यस्तो परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशालाले नमूनाहरु छनौट गरी विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा पठाउने गर्दथ्यो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नेपालमै जीन सिक्वेन्सिङ हुनु सुखद रहेको बताए । ‘अब हामी दुईठाँउबाट सानो भोलुममा भएपनि सिक्वेन्सिङ गर्न सफल भएका छौँ । विस्तारै यसको क्षमता बढाई ठूलो भोल्युममा पनि काम गर्न सक्ने बनाउने योजनामा छौँ,’ उनले भने ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



