स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामा : प्रधानमन्त्री देउवा

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेको ‘ग्लोबल कोभिड–१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड–१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका हुन् ।

उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उनले नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको उल्लेख गरे । “हामीले कोभिड–१९ बाट सुरक्षित रहनका लागि जनस्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने कामलाई प्राथमिकता दिएका छौँ”, उनले भने ।

प्रधानमन्त्री देउवाले नेपालले कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित जनसङ्ख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसङ्ख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिए ।

आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उनको भनाइ छ । उनले नेपालले कोभिड–१९ को परीक्षण तथा खोपको पहुँचको दायरालाई ग्रामीण क्षेत्रसम्म पनि पु¥याएको जानकारी पनि सो सम्बोधनमा गराए ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गर्ने विदेशी दाता राष्ट्र तथा साझेदार सबैलाई धन्यवाद दिँदै विश्वस्वास्थ्य सुरक्षा कोषमा योगदान गर्ने साझेदारप्रति समेत आभार प्रकट गरे ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *