लक्षण देखिएको २४ देखि ४८ घण्टा भित्रै आँखाको दृष्टि गुमाउन सक्ने शापु रोग के हो ? कसरी जोगिने ?


सिजनल हाइपर एक्युट पान युभिलिटिज (शापु)  एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग प्राय नेपाली बालबालिकाहरुमा विसं २०३२ साल देखि देखा परेको हो । वर्षायाम पछिको समय प्राय: भदौ देखि मंसिर महिनासम्म विशेषगरी नेपालको मध्य पहाडी भेगमा शापु महामारीको रुपमा देखा पर्ने गरेको छ । यो रोगको लक्षणहरु देखा परेको २४ देखि ४८ घण्टा भित्रै उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने तथ्यांकले पुष्टि गरेको छ ।

यो रोग लाग्ने कारण ?
हालसम्म सेतो पुतली (मोथ) लाई शापुको कारकको रुपमा प्राय जोडिने गरेको छ । तथापी कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुमा पनि यो रोग देखा परेको छ । साथै अन्य कारणहरुमा सुक्ष्म जिवाणु एवं विषाणु समेत रहेको पाइएको छ । तर हालसम्म यो रोगको कारक यहि नै हो भनेर यकिन भएको छैन् ।

लक्षण तथा चिन्हहरु

  • एक्कासी एउटा आँखा रातो हुनु ।
  • चिप्रा नलाग्नु ।
  • उज्यालोमा हेर्न नसक्नु ।
  • आँखाको दृष्टिमा तत्कालै कमी हुनु ।
  • आँखाको दुखाई सामान्य वा बढी हुनु ।
  • उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिन्छ ।

निदान तथा उपचार

यो रोगको निदान तथा उपचार आँखा विभाग अस्पतालहरुमा मात्र गर्ने गरिन्छ । शापुको आकस्मिक उपचार सेवा आँखा भित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया समेतबाट गर्ने गरिन्छ । समयमा नै उपचार भएमा मात्र आँखा निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।

रोकथाम

शापु रोग लाग्नबाट बच्नका लागि,

  • सेतो पुतली (मोथ)को संसर्गबाट टाढै रहने ।
  • धेरै उज्यालो सेतो बत्ति नबाल्ने ।
  • साँझ र राती झ्याल ढोका बन्द गर्ने ।
  • सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने ।
  • सुत्ने कोठामा बत्ति निभाएर वा मधूरो बत्ती बालेर झूलभित्र मात्रै सुत्ने ।

नियन्त्रण ?
– रोगको लक्षण देखा परेमा वा शंका लागेमा तुरुन्तै आँखा विभाग अस्पतालमा जाने ।
– आफूखुशी कुनै पनि आँखाको औषधि तथा जडिबुटी नराख्ने ।
– आँखा स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम उपचार गर्ने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *