डिमेन्सिया र अल्जाइमर्स के हो ? बिरामीलाई सरकारले के सुविधा दिएको छ ?


डिमेन्सिया मस्तिष्कमा आउने परिवर्तनहरुका कारण हुने तथा क्रमश बढ्दै जाने एक दीर्घकालिन मानसिक स्वास्थ्य समस्या हो । अल्जाइमर्स भने डिमेन्सियाका लक्षणहरु विस्तारै धेरै बर्षहरुमा बिग्रिएर हुने रोग हो ।

यसको प्रारम्भिक चरणहरुमा व्यक्तिको स्मरण शक्तिमा विस्तारै ह्रास आँउछ भने समयसंगै व्यक्तिहरु कुराकानी गर्न र प्रतिक्रिया दिन पनि असमर्थ हुन्छन् । यो जुनसुकै उमेरमा हुन सक्ने भए तापनि बृद्धबृद्धाहरुमा बढी देखिन्छ ।

लक्षणहरु :
डिमेन्सिया तथा अल्जाइमर्स विश्वभर नै बृद्धबृद्धामा अपांगता र परनिर्भरता गराउने प्रमुख कारणमध्ये एक हो । यसले स्याहारकर्ताहरु, परिवारहरु तथा समाजलाई शारीरिक, मनोबैज्ञानिक तथा आर्थिक रुपमा ठूलो प्रभाव पार्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ५ करोड मानिसहरुलाई डिमेन्सिया छ । २०१५ मा गरिएको एक अध्ययन अनुसार नेपालमा पनि ७८ हजार अल्जाइमर्सका विरामीहरु रहेका थिए । जुन प्रत्येक २० बर्षमा दोब्बर हुने अनुमान गरिएको छ ।

यी रोगका लक्षणहरु निम्न अनुसार रहेका छन्  :

  • तर्क गर्ने क्षमतामा कमी आउने तथा सामान्य समस्याहरु पनि समाधान गर्न नसक्ने हुनु ।
  • मिति समय तथा स्थानका सम्वन्धमा ज्ञान हराउँदै जानु ।
  • आँखाले देखेका कुराहरु नचिन्नु तथा नजिक टाढाको दुरी अथवा सम्वन्ध छुट्टाउन नसक्नु ।
  • कुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शव्द नभेटिनु ।
  • सामानहरु अलपत्र पारी चाहिएकोबेलामा भेटाउन नसक्नु ।
  • स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु ।
  • घरायसी तथा व्यवसायिक क्रियाकलापबाट विमुख हुनु ।
  • बारम्बार एउटै कुराहरु सोधिरहनु ।
  • आफ्नो दैनिक कार्यसम्पादन गर्न कठिनाई हुनु ।
  • अरु व्यक्तिसंग कुराकानी गर्न र बुझ्न पनि समस्या हुनु ।
  • समस्याहरु हराउनु र राखेको ठाँउ बिर्सनु ।
  • निर्णय लिने क्षमतामा कमी हुँदै जानु र निर्णय लिन कठिनाई महसुस गर्नु ।
  • आफ्नो दैनिक र सामाजिक क्रियाकलापबाट पनि हट्नु वा चासो राख्न छोड्नु ।

डिमेन्सिया तथा अल्जाइमर्स भएका व्यक्तिहरुलाई परिवार तथा अरुले कसरी सहयोग गर्न सकिन्छ ?
डिमेन्सिया तथा अल्जाइमर्सलाई निर्मूल गर्ने उपचार प्रणाली नभएता पनि व्यक्ति तथा परिवारको सहयोगले यसको सहज व्यवस्थापन गर्न सकिन्छ ।

  • रोग यसका कारणहरु र व्यवस्थापनका उपायहरुको बारेमा जानकारी लिनुहोस् ।
  • डिमेन्सिया भएका व्यक्तिहरुको कुरालाई ध्यानपूर्वक तथा धैर्यतापूर्वक सुन्नुहोस ।
  • दैनिक गरिने कामकाज तथा सामुदायिक जीवनका क्रियाकलापमा सहभागिता बढाउन सहयोग गर्नुहोस् । यसका लागि उपलव्ध सामाजिक स्रोतसाधनहरुसंग समन्वय गरी सहयोग गर्नुहोस ।
  • आत्मनिर्भरता बढाउनका लागि आवश्यक सीपहरु सिकाउनुहोस् ।
  • लडने तथा चोटपटक लाग्ने जोखिम न्यूनिकरण गर्नका लागि घरको बातावरण सुरक्षित बनाउनुहोस् ।
  • नियमित रुपमा सचेत गराउने तथा स्मरण जागृत गराउने खालका अभ्यास गराउनुहोस ।
  • अन्तमा आफ्ना प्रियजनहरुको हेरचाह गर्ने क्रममा कठिनाई वा तनाव महसुस गरेको खण्डमा सहयोगको खोजी गर्नुहोस् ।

डिमेन्सिया तथा अल्जाइमर्सका विरामीलाई सरकारले के सुविधा दिएको छ ?
सरकारले चिकित्सकद्धारा डिमेन्सिया निक्र्योल गरिएको अवस्थामा बिरामीले एक लाख रुपैयाँ बराबरको औषधि र उपचार सुविधा पाउने व्यवस्था गरेको छ । हालैमात्र संसोधित नीति तथा कार्यक्रममा औषधि उपचारका लागि थप मासिक ५ हजार रुपैयाँ उपलव्ध गराउने व्यवस्था गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालबाट यो सुविधा लिन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *