वीर अस्पतालका डा. अशेष ढुंगानाले गरे विभूषण अस्विकार

काठमाडौँ, ३ असोज । वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले संविधान दिवसको अवसरमा विभूषित गरिने पदक अस्विकार गरेका छन् । सरकारले उनलाई प्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरेको थियो । तर उनले मापदण्डविपरीत पदक दिइएको भन्दै अस्विकार गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई दिएको पुरस्कार र विभूषण सिफारिस कार्यविधि एवं प्रधान सम्वन्धी मापदण्ड २०७५ पोष्ट गर्दै अस्विकार गर्नुको कारण खुलाएका छन् ।

एघारौँ तह र सह प्राध्यापक रहेका ढुंगानालाई मापदण्ड अनुसार सुप्रवल जनसेवा श्री तृतियबाट विभुषित गर्नु पर्ने थियो । तर सरकारले घोषणा गरेको पदक सूचीमा उनी प्रवल जनसेवा श्री चतुर्थ श्रेणीमा परेका थिए ।

फेसबुकमा उनले लेखेका छन्, ‘हुन त राष्ट्रसेवा वा बिरामीको सेवा र उपचार गर्दा पुरस्कार र मान पदवी र सम्मानको आशाले गरिएको हुँदैन र गर्नु पनि हुँदैन। तर काम गर्दै जाँदा पुरस्कार पाउँदा खुशी हुनु स्वाभाविक हो र यसले अझ राम्रो काम गर्दै जाने हौसला प्रदान गर्छ। संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेहरूमा देख्दा खुशी लागेतापनि पदक दिंदा विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह / श्रेणी र साथसाथै मेरो शैक्षिक पद (सह प्राध्यापक) सरह नमिलेको हुँनाले नेपाल सरकारलाई पुरस्कार प्रदान गरेकोमा धन्यबाद ज्ञापन गर्दै सहर्ष अस्विकार गरेको घोषणा गर्दछु। पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गर्दै नेपाल सरकारले भाविष्यमा प्रदान गर्ने पुरस्कार र मान ( पदवी र सम्मानहरू विवादरहित रहोस भन्ने कामना गर्दछु। साथै चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यबादनै सब भन्दा ठुलो पुरस्कार हुने हुँदा सो पाइरख्ने आशा गर्दछु।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ९०३ जना विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पदवी विभूषण र अलंकारद्धारा प्रदान गर्ने घोषणा गरेकी थिईन । स्वास्थ्य क्षेत्रका मात्रै १०६ जनाले विभिन पदवी पाएका थिए । त्यसमध्येका एक थिए डा अशेष ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *