स्वास्थ्य सम्वन्धी तीनवटा महत्वपूर्ण अध्यादेश निष्क्रिय, काम प्रभावित हुन सक्ने

काठमाडौँ, ३१ भदौ । समय भित्रै संसदबाट पास हुन नसकेपछि अरु संगै स्वास्थ्य सम्बन्धी तीनवटा अध्यादेश पनि निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय हुँदा कोभिडविरुद्धको लडाईंलाई समेत असर पर्ने देखिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले स्वास्थ्य सम्वन्धी तीनवटा अध्यादेश ल्याएको थियो । कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश, औषधि (तेस्रो संशोेधन) अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी(पहिलो संशोधन) अध्यादेश थियो ।

संविधान अनुसार ३ साउनमा बसेको संसदको बैठकमा टेवल भएका अध्यादेशहरु ६० दिन भित्र अर्थात बुधबार राती १२ बजे भित्र पास हुनुपर्दथ्यो । तर यो अवधीमा कुनै पनि अध्यादेश पास हुन सकेन ।

सरकारले गत ७ जेठमा कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्थ ाबनेको अध्यादेश जारी गरेको थियो । सो अध्यादेशबाटै वीर अस्पताललाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा परिणत गरेको थियो । सोही अध्यादेशले अस्पतालमा ११ औँ तहको व्यक्तिलाई प्रमुख प्रशासकीयक अधिकारी नियुक्ती गर्ने प्रावधान गरेको थियो । सोही अनुसार अहिले प्राडा भुपेन्द्रकुमार बस्नेत त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीमा छन् । सो अस्पतालले वीरको मात्रै नभई देशभरको अस्पतालहरुको कोभिड उपचारका लागि आवश्यक समन्वय गर्ने दायित्व पाएको थियो ।

यस्तै विद्यमान कानून अनुसार आपतकालीन प्रयोगका लागि अनुमति पाएका खोप सर्वसाधारणका लागि प्रयोग गर्न नमिल्ने भएपछि तत्कालिन सरकारले औषधि (तेस्रो संसोधन) अध्यादेश ल्याएको थियो । सोही अनुसार धेरै नयाँ कोभिड खोपहरु आपतकालीन प्रयोगका लागि अनुमति पाएका थिए । अध्यादेश निष्क्रिय हुँदा यी खोपहरुको प्रयोगमा समेत अन्योलता छाएको छ ।

यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संशोधन) अध्यादेश पनि बुधबारबाट निष्क्रिय भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले लामो समय देखिको माग सम्वोधन गर्ने क्रममा सरकारले यो अध्यादेश ल्याएको थियो । बुधबारबाट यो अध्यादेश अन्योलमा परेको छ ।

स्वास्थ्य आफैमा सम्वेदनशील र यो बेलामा यी अध्यादेशहरु निष्क्रिय हुँदा दैनिक काममा निकै अफ्टेरो हुने भएपछि स्वास्थ्य मन्त्रालयले कानून मन्त्रालयसंग छलफलमा जुटेको छ । मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यले अब मन्त्रिपरिषदबाट स्वास्थ्य सम्वन्धी यी अध्यादेशबाट भइरहेका कार्यहरु नरोकिने गरी केही आदेश जारी गराई ती त्यसलाई निरन्तरता दिने भन्ने तयारी गरेको छ ।

‘सम्भवत आजै मन्त्रिपरिषद् बैठक बसी स्वास्थ्यका विषयमा केही निर्णय होला कि,’ मन्त्रालय उच्च स्रोतले भन्यो । मन्त्रालयले स्रोतका अनुसार कोभिड १९ संकट व्यवस्थापन अध्यादेशबाट गठन भएको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको संरचना र पदाधिकारीलाई निरन्तरता दिने गरी केही आदेश जारी गर्न सकिने विषयमा समेत छलफल भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *