चिकित्सक लाइसेन्स परीक्षामा प्रयोगात्मक अभ्यास पनि गराउने तयारी

काठमाडौँ, ३१ भदौ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अब लिखित पछि प्रयोगात्मक पनि दिनुपर्ने व्यवस्था गर्न खोजेको छ । काउन्सिलले एमबीबीएस पछि लिइने लाइसेन्स परीक्षामा लिखितसंगै प्रयोगात्मक (सीप परीक्षण) सम्वन्धी परीक्षा पनि लिने व्यवस्था गर्न खोजेको हो ।

‘काउन्सिलको ऐनमै चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा लिखित, मौखिक र प्रयोगात्मक हुन सक्छ भन्ने व्यवस्था छ । अहिलेसम्म हामीले लिखित मात्रै लिदै आएको छौँ । अब ऐनमा भएको अरु व्यवस्था पनि गर्नुपर्छ भन्ने सोचमा काउन्सिल अघि बढेको छ । यसका लागि एउटा कार्यविधि बनाएर सकेसम्म छिटो सुरु गर्ने योजना काउन्सिलको छ,’ रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने ।

उनका अनुसार एमबीबीएसको लाइसेन्स परीक्षामा सहभागीले सुरुमा लिखित परीक्षा दिने र त्यसमा उत्तीर्ण भएकाले पुन प्रयोगात्मक अभ्यास (स्कील टेष्ट) गर्नुपर्ने व्यवस्था मिलाउन खोजिदैछ ।

काउन्सिलको शिक्षा समितिले प्रयोगात्मक अभ्यासका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा गएर उपयुक्त छ कि छैन भनेर निरीक्षण समेत गरिसकेको छ ।

डा अधिकारीका अनुसार प्रयोगात्मक अभ्यासका लागि ५० देखि ६० वटा विषयमा राखिनेछ । त्यसमध्ये विद्यार्थीले १० वटा विषयमा प्राक्टिकल गर्नुपर्छ । यो प्राक्टिकलमा ८० प्रतिशत ल्याउने मात्रै उत्तीर्ण हुने प्रावधान राखिनेछ । ‘अहिले हामीले यसमा आवश्यक तयारी गरिरहेका छौँ, अब छिटै नै कार्यविधि बनाएर लागू गर्नेछौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *