राष्ट्रिय ट्रमा सेन्टरमा मेसुको दरबन्दीमा निर्देशक पठाइयो

काठमाडौँ, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको नेतृत्व परिवर्तन गर्दा ‘गम्भीर’ गल्ती गरेको छ । उसले मेडिकल सुपरीटेन्डेनको दरबन्दीमा निर्देशक पठाएको छ ।

मंगलबारको स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय भन्दै दशौँ तहका डा प्रमोद जोशीलाई ट्रमाको निमित्त निर्देशकको जिम्मेवारी तोकिएको छ । उनले हिजो बेलुका नै ट्रमामा गएर निमित्त निर्देशकको रुपमा पदवहाली गरिसकेका छन् । तर ट्रमामा निर्देशक रहने व्यवस्था नै छैन् ।

त्यहाँको प्रमुख एघारौँ तहको मेडिकल सुपरीटेन्डेन हुने व्यवस्था छ । यसअघि प्रमुखको जिम्मेवारी तोकिएका दशौँ तहका डा सन्तोष पौडेलले निमित्त मेडिकल सुपरीटेन्डेनको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

‘यो गम्भीर गल्ती हो । स्वास्थ्यका अधिकारीहरुले त्यो कुराको ख्याल गर्नु पर्ने थियो । हाजिरी हुने व्यक्तिले पनि मेसु हो कि निर्देशक पद हो भन्ने ख्याल गर्नु पर्दथ्यो । हाजिर गराउनेहरुले पनि मेसु हो कि निर्देशक पद हो भन्नु पर्दथ्यो । हतास र जे पनि चल्छ भन्ने मानसिकताले यस्तो भएको हो,’ स्वास्थ्यका एक जना उच्च अधिकारीले टिप्पणी गरे ।

त्यसो त ट्रमाको निर्देशक एघारौँ तहको पद भएकोले यो मन्त्रीस्तरीय निर्णयबाट मात्रै परिवर्तन गर्न मिल्ने थियो । तर स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले दशौँ तहसम्मको सरुवा गर्ने जिम्मेवारी राज्यमन्त्री उमेश श्रेष्ठलाई दिएका छन् । सोही कारण दशौँ तहका जोशीले राज्यमन्त्री श्रेष्ठकै निर्णयले जिम्मेवारी तोकिएको बताइएको छ ।

यसअघि दशौँ तहका डा पौडेल ट्रमाको निर्देशक रहँदा आफूहरुलाई जुनियरको मातहतमा रहेर काम गर्न अफ्टेरो भएको भन्दै डा रुद्र मरासिनी नेतृत्वको टोलीले स्वास्थ्य राज्यमन्त्री र प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको थियो । त्यसबेला आफ्नो ध्यानाकर्षण भएको भन्दै राज्यमन्त्री श्रेष्ठले छिटै नै निर्णय लिने बताएका थिए । ‘राज्यमन्त्रीले निर्णय त छिटै नै लिए तर दशौँ तहकै डाक्टरलाई नेतृत्व पठाएर ध्यानाकर्षण कसरी गर्दा रहेछन् भनेर स्पष्ट जवाफ दिएका छन्,’  ट्रमाका एक बरिष्ठ चिकित्सकले टिप्पणी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *