चिकित्सा शिक्षा आयोगले छात्रबृत्ति, आरक्षण र विदेशी कोटाको ‘प्रि-म्याचिङ’ सूची निकाल्दै

काठमाडौँ, २५ भदौ ।  चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र तर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नाम निकाली छात्रबृत्ति कोटा, आरक्षण कोटा र विदेश विद्यार्थी कोटाका लागि दावी गर्ने विद्यार्थीको ‘प्रि -म्याचिङ’ सूची सार्वजनिक गर्ने भएको छ ।

आयोगले आजै बेलुका वा भोलि विहानसम्ममा छात्रबृत्ति आरक्षण र विदेशी कोटामा छनौट हुनेहरुको नाम प्रकाशित गर्ने भएको हो ।

चिकित्सा शिक्षा तर्फ स्नातक तहको कुल १६ विषयका लागि ८ हजार २५१ सिट छुट्याईएको छ । त्यसमा विदेशीका लागि २ हजार २३५, खुल्ला छात्रबृत्ती तर्फ एक हजार १९४ र आरक्षण तर्फ ९७७ सिट छुट्याएको छ ।

‘सकेसम्म आज वा भोलि विहानै प्रि म्याचिङ नाम प्रकाशित गर्ने योजनामा छौँ । यसमा विद्यार्थीलाई रि कन्र्फम गर्नका लागि तीन दिनको समय दिन्छौँ,’ आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले भने ।

उनले छात्रबृत्ति आरक्षण र विदेशी कोटामा म्याचिङ हुँदा कुल सिटको ५३.३९ प्रतिशत गई सक्ने हुनाले बाँकी रहने खुल्ला कोटामा त्यस लगत्तै म्याचिङ खोल्ने बताए ।

साँचो बुझाएका कलेजको विषयमा के हुन्छ ?
एकीकृत प्रवेश परीक्षाको नतिजाका विषयमा चित्त नबुझाई साँचो बुझाएका प्यारामेडिक्स तथा नर्सिङ विषय पढाउने निजी कलेजहरुको विषयमा पनि आयोगले औपचारिक बोलेको छैन् । तर प्रवक्ता लुईटेलले त्यसका बारेमा पनि विभिन्न विकल्प सोचेको बताए ।

‘पहिले अहिलेको नतिजामा छनौट भएकाहरुलाई भर्ना गरौँ । त्यसपछि सेसन लस नहुने गरी अर्को प्रवेश परीक्षा लिन पनि सकिन्छ कि । भन्ने विषयमा पनि छलफल भईरहेको छ । कलेजहरुलाई मर्का नपरोस भन्नेमा हामी सचेत छौँ । त्यसमा उपयुक्त विकल्पहरु सोच्दैछौँ ‘ प्रवक्ता लुईटेलले भने ।

निजी कलेजहरुले छात्रबृत्ति र आरक्षण कोटाका विद्यार्थीलाई आफूहरुले पढाउन नसक्ने भन्दै आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *