नेपालमा कोभिडविरुद्धको चिनियाँ खोप पछि अमेरिकी खोपलाई पनि दिईयो क्लिनिकल ट्रायलको अनुमति

काठमाडौँ, १७ भदौ । नेपालमा कोभिड -१९ विरुद्धको अर्को खोपको पनि क्लिनिकल ट्रायल हुने भएको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अमेरिकी कम्पनी सानोफी पास्चर र जिएसकेले उत्पादन गरेको कोभिडविरुद्धको खोप क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय हो ।

गत साता मात्रै सरकारले चिनियाँ कम्पनी वालभ्याक्सले उत्पादन गरेको कोभिड खोपलाई क्लिनिकल ट्रायल गर्ने अनुमति दिएको थियो ।

‘सानोफी पास्चर प्रोटिन कन्जुकेट भ्याक्सिन हो । नर्मल तापक्रममा (२ देखि ८ डिग्री सेन्टिग्रेड) स्टोरेज गर्न सकिन्छ । १८ देखि ६० बर्ष उमेर समूहका लागि दिईन्छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई)को प्रस्तावमा यो खोप धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा कुल ४ हजार व्यक्तिहरुमा ट्रायल हुँदैछ ।

यसअघि क्लिनिकल ट्रायलका लागि अनुमति दिईएको चिनियाँ खोप सार्स कोभ – २ एम आरएनएको तेस्रो चरणको ट्रायलको समन्वय देउराली जनता फर्मास्यिुटिकलले गर्ने र यसको ट्रायल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हुने बताइएको थियो । सो ट्रायलमा ३ हजार नागरिक स्वेच्छिक रुपमा सहभागी गराइने बताइएको थियो ।

यो खोपको ट्रायलको लागि वालभ्याक्सले नेपालको औँषधि कम्पनी देउराली जनता (डीजेपीएल) संग समन्वय गरेको थियो । यो ट्रायल सफल भएमा त्यहाँको कच्चा पदार्थ ल्याएर डीजेपीएलले नेपालमै सो खोप उत्पादन गर्नेगरी प्रस्ताव अघि बढाएको समेत बताइएको छ ।

यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्न सकिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *