‘बीएण्डसीले हामीलाई बन्धक बनाएको होइन बचाएको हो’

झापा, १७ भदौ ।  पैसा तिर्न नसकी बीएण्डसी अस्पतालमा बन्धक बनाएको समाचार छापिएपछि शिवसताक्षी– २ यामबहादुर श्रेष्ठको परिवारले विहीबार विहान अस्पताल प्रशासनसंग पत्रकार सम्मेलनको व्यवस्था गरिदिन आग्रह गर्‍यो । सोही अनुसार अस्पताल प्रशासनले व्यवस्था मिलाईदियो ।

सुरुमै यामबहादुरका भाई ख्यामबहादुरले भने, ‘समाचार पुरै गलत । उनले अगाडी थपे बीएण्डसीले बन्धक बनाएको होइन हाम्रो दाई भाउजूको ज्यान बचाएको हो ।’

१९ फागुन ०७७ मा पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा को।१ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसबेला कारमा सवार दुईजनाको ज्यानै गएको थियो भने मोटरसाइकलमा रहेका श्रेष्ठदम्पती घाइते भएका थिए । श्रेष्ठ दम्पत्ती अहिलेसम्म सोही अस्पतालमा बसेर उपचार गराईरहेका छन् ।

विहीबारको एक दैनिक पत्रिकामा ‘ट्रकले ठक्कर दियो बीएण्डसीले बन्धक बनायो ‘ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उपचार गराईरहेका आफ्ना दाईभाउजुलाई समेत संगै राखेर ख्यामबहादुरले भने, ‘हामीले त उपचार चलिरहेको छ, खर्च यति लाग्यो र यति तिरियो भनेका थियौँ । हाम्रो मुद्धा जिल्ला प्रशासन कार्यालयमा प्रक्रियामै छ । तर एकाएक अस्पताललाई दोष देखाउने गरी समाचार प्रकाशित गरिएछ । यो सरासर बेइमानी हो,’उनले भने ।

‘जसले दुर्घटना गराउँछ । उपचार खर्च उसले तिर्नुपर्छ । यसमा सीडीओ कार्यालयमा केश दर्ता भइसकेको छ । अब छिटै यसको फैसला हुन्छ होला । त्यसपछि हामीले अस्पतालमा लागेको खर्च पनि तिर्न सक्छौँ भन्ने हो । अहिले अस्पतालले हाम्रो उपचार गराईरहेको छ । कहाँबाट बन्धक हुनु ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बन्धक बनाउने कुनै कुरा नभएको भन्दै समाचारमा सत्यता नभएको बताए । ‘उहाँहरु गम्भीर घाइते हुनुभयो । लामो समय देखि अस्पतालमा बस्नु परेको छ । उपचारका क्रममा खर्च लाग्छ । त्यो दुर्घटनाको केश भएकाले खर्च तिर्ने विषय प्रहरी प्रशासनले पनि हेर्दै होला । हामी उहाँहरुलाई किन बन्धक बनाउनु ?’उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *