भरतपुर अस्पतालमा ८० भन्दा बढीको जोर्नी प्रत्यारोपण

चितवन, १७ भदौ । राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ। डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो।

हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहेका डा थापाले विगत छ वर्षदेखि उक्त अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दै आएका छन्। यस अवधिमा अस्पतालमा मात्रै ८० भन्दा बढीको प्रत्यारोपण भइसकेको छ।

कोरोना सङ्क्रमणका कारण नियमित यस्ता शल्यक्रिया कम भएका भए पनि पछिल्लो समय नियमित गरिएको छ। घुँडा, पुठो, कुहिनोलगायतको प्रत्यारोपण गरिएको उनले बताए। उनका अनुसार प्रत्यारोपणका लागि विभिन्न धातुको मिश्रणबाट बनेको मेटल एलोए प्रयोग गरिँदै आएको छ। त्यसको मूल्य महँगो पर्ने हुँदा प्रत्यारोपण खर्चिलो हुने गरेको थापा बताउँछन् ।

उनले भने, जोर्नी प्रत्यारोपण गर्दा अमेरिकामा बनेका मेटल एलोएलाई रु दुई लाख हाराहारी र भारतमा बनेकालाई रु एक लाख ५० हजार हाराहारी पर्दछ।

यसका अतिरिक्त सरकारी अस्पतालमा शल्यक्रिया शुल्क केही सस्तो हुन्छ भने निजीमा केही महँगो पर्दछ। यो मुख्य (मेजर) शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने गरिन्छ। उनको भनाइमा बढी सङ्ख्यामा ६५ वर्ष नाघेका वृद्धवृद्धालाई यो समस्या पर्ने गर्दछ। जोर्नी खिइएर, बाथ रोगका कारण, चोटपटक लागेर, क्षयरोगजस्ता सङ्क्रामक रोगका कारण र वंशाणुगत कारण यो समस्या देखिने गर्दछ। कतिपय बालबालिकामा जन्मजात यो समस्या देखिने गरेको उनको भनाइ छ। अत्यधिक मदिरा र स्टेरियड औषधिका कारण पनि जोर्नीमा समस्या आउने गरेको छ।

नेपालमा प्रत्यारोपणमा विज्ञ चिकित्सक कम भएको जनाउँदै उनले समस्या लिएर धेरै बिरामी आउने गरेका बताए। उनको भनाइमा सरकारले अन्य जटिल रोगमा झै जोर्नी प्रत्यारोपणमा पनि सुविधा दिएमा धेरैले राहत पाउने थिए। आर्थिक अभावकै कारण प्रत्यारोपण गर्न परेर पनि यो सुविधा पाउन नसक्ने धेरै भएको डा थापा बताउछन्।

एक पटक प्रत्यारोपण गरेपछि १५ देखि २५ वर्षसम्म काम गर्ने गरेको उनको अनुभव छ। विदेशमा भन्दा कम खर्चमा यही उपचार हुने भएकाले नेपालमै उपचार गर्न उनी सुझाव दिन्छन्। दीर्घरोगबाट बच्न, योगा, व्यायाम गर्न, अत्यधिक मदिरा सेवन नगरेमा केही हदसम्म जोर्नीको समस्या कम गर्न सकिने थापाको भनाइ छ।

नेपालमा जोर्नी प्रत्यारोपणसम्बन्धी सचेतना कार्यक्रम कम भएको चिकित्सक बताउँछन्। विदेशमा साना साना जोर्नी प्रत्यारोपण र रोबटिक प्रविधि हुने गरेको भन्दै उनले नेपालमा यसको थालनी भइनसकेको बताए।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *