नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले छैटौँ बार्षिकोत्सव मनायो

ललितपुर १६ भदौ । पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले सामुदायिक आँखा क्लिनिक सञ्चालनमा ल्याएको छ । बुधबार छैटौँ बार्षिकोत्सव मनाउने क्रममा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले सामुदायिक आँखा क्लिनिक सञ्चालनमा ल्याइएको बताए ।  उनले सो क्लिनिकमा आँखा उपचार तथा परीक्षणका लागि दर्ता शुल्क ५० रुपैयाँ मात्रै तोकिएको जानकारी दिए ।

यसअघि जावलाखेलमा रहेको सेन्टर आजबाट पुल्चोकमा सरेको छ । वार्षिकोत्सवकै अवसरमा नयाँ ठाँउमा खोलिएको क्लिनिकको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे । सो अवसरमा सेन्टरले आगामी एक महिनासम्म निःशुल्क आँखा परीक्षण, आँखा सौन्दर्य सर्जरी सेवामा २५ प्रतिशत र चश्मा मर्मतमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

सेन्टरकी अध्यक्ष एवं आँखा एवं अकुलोप्लाष्टि सर्जन डा. पूजा राजभण्डारीले ६ वर्षको अवधीमा ४ सय बढीको सर्जरी र १० हजार व्यक्तिको आँखा उपचार गरेको बताइन ।

आँखाको प्लास्टिक सर्जरी अन्तरगर्त आँखाबाट निरन्तर आँशु वा पिप बगिरहने बिरामीको उपचार, आँखा वरिपरी बोसो, मुसा, मासुको डल्ले र ट्युमर हटाउने, उमेरको कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तलतिर सरेको उपचार, रोगका कारण आँखा साना वा ठूला भएको उपचार पर्दछन् ।

यसैगरी कस्मेटिक आई सर्जरीअन्तर्गत आँखाको मुन्द्री बनाउने, मंगोलियन आईलिड सर्जरी, आँखाको बोसो हटाउने, आई ब्रो चिक लिफ्टिङ, अनुहारको चाउरीपन हटाउने आदि पर्दछन्

यसबाहेक सेन्टरले दृष्टि दोष, उच्चरक्तचाप, मधुमेह, थाईरोइड, बाथरोग र शरीरका अन्य भागका लागेका रोगहका कारण आँखामा पर्ने असरको जाँच समेत गरिरहेको डा राजभण्डारीले बताईन ।

ललितपुरका मेयर महर्जनले ललितपुर स्मार्ट सिटीको अवधारणा सहित अघि बढी रहेको भन्दै यस्ता सेन्टरहरुले महानगरको योजनालाई थप सहयोग पुग्ने बताए । उनले नयाँ सेन्टरले जनताले सेवा पाउने र सञ्चालन कर्तालाई पनि अफ्टेरो नहुने गरी काम गर्न आग्रह गरे । उनले भने, ‘तपाँई ललितपुरको मुटुमा यो सेन्टर सञ्चालन गर्नु भएको छ । यसले सेवा पनि दिओस र तपाईँको व्यवसाय पनि राम्ररी सञ्चालन होस् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *