नारायण ढकाल औषधि व्यवस्था विभागको तेस्रो पटक महानिर्देशक बने

काठमाडौँ १५ भदौ ।  औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुन: नारायण ढकालले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिस्तरीय निर्णय गर्दै ढकाललाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् । ढकाल यो सहित विभागमा तेस्रो पटक महानिर्देशक बनेका छन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार विभागका हालका महानिर्देशक रहेका भरत भट्टराईलाई भने राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाएर पठाइएको छ । उनी गतवर्ष एघारौँ तहमा बढुवा भएपछि महानिर्देशकमा पदस्थापन भएका थिए ।

तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २९ असोज २०७७ मा मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशक बनाएका थिए ।

त्यसो त ढकाल २०७३ भदौ ३१ देखि नै विभागको महानिर्देशक बनेका हुन् । ११ औँ तहमा बढुवा भएको केही समय पछि उनले विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका हुन् । तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १५ असार २०७६ मा उनलाई महानिर्देशकबाट हटाई १० औँ तहका पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशक बनाएका थिए ।

मन्त्रीको यो निर्णय विरुद्ध ढकाल सर्बोच्च अदालत गएका थिए । सर्बोच्चले २१ साउन २०७६ मा ढकालको पक्षमा निर्णय गर्दै तत्कालिन मन्त्री यादवको  निर्णय उल्ट्याई दिएको थियो । तर उनले महानिर्देशकको जिम्मेवारी भने तत्कालै पाएनन् ।

पछि भानुभक्त ढकाल स्वास्थ्य मन्त्री भएर आएपछि उनी पुन: महानिर्देशक बन्न सफल भएका थिए । मन्त्री ढकालले २०७६ पुस २२ गते मन्त्रीस्तरीय निर्णय गर्दै पानवहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकबाट हटाई ढकाललाई महानिर्देशक बनाएका थिए ।

त्यसबेला उनले सर्बोच्च अदालतको आदेशको कार्यान्वयन गरेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *