यसरी सम्पन्न भयो मेरो मिर्गौला प्रत्यारोपण : झलनाथ खनाल

काठमाडौँ, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरि आज स्वदेश फर्किएका छन् । नेपाल बायुसेवाको नियमित उडानबाट अपरान्ह पाँैने ४ बजे उनी काठमाडौँ अवतरण गरेका हुन् ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू नाफाको जीवन लिएर फर्किएको बताएका थिए । उनले अपरान्ह पुन प्रेस वक्तव्य जारी गर्दै आफू कसरी मिर्गौला प्रत्यारोपण गर्ने अवस्थामा पुगेको ? कसले मिर्गौला दिएको ? भन्नेबारेमा बताएका छन् । उनले आफ्नो उपचार खर्च सरकारले वेहोर्ने निर्णय गरेकै कारण सम्भव भएको समेत उल्लेख गरेका छन् ।

तर,  सरकारले उपचारमा कति खर्च भयो भन्ने उल्लेख गरेका छैनन् । उनले मिर्गौला प्रत्यारोपणका लागि भारत जानुको कारण समेत राम्ररी खुलाएका छैनन् । किनभने मिर्गौला प्रत्यारोपण अहिले नेपालमा सफलतापूर्वक भई नै रहेको छ ।

आफ्नो मिर्गौला प्रत्यारोपण पछि यसरी जानकारी गराए खनालले

प्रिय पत्रकार मित्रहरू तथा आम जनसमुदायहरू,

म करिब अढाई महिना अघि मेरो स्वास्थ्यमा गम्भीर समस्या आएर नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेको थिएँ । तर मेरो स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको थियो । म सिकिस्त हुँदै गइरहेको थिएँ । त्यस्तो अवस्थामा मलाई उपचार गरिरहनुभएका डाक्टरहरु पनि चिन्तित हुनुहुन्थ्यो ।

म उपचारका निम्ति बाहिर जाने सोच बनाइरहेको थिए । ठिक त्यहि बेला मलाई भेट्न पार्टीका युवा पुस्ताका नेताहरू आउनुभयो । मेरो अवस्था देखेपछि उहाँहरुले तुरुन्त भारत जाने सल्लाह दिनुभयो ।

उहाँहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसँग पनि कुरा गर्नुभयो । सरकारले समेत सहयोग गर्ने भएपछि म गत असार ०२ गते दिल्ली प्रस्थान गरे र त्यस दिन म इन्द्रप्रस्थ एपोलो हस्पिटलमा भर्ना भएँ । त्यसपछि मेरो सघन उपचार अघि बढ्यो । मलाई प्रारम्भमा त्यसरी सहयोग गरेकोमा पार्टीका युवा पुस्ताका नेताहरू प्रति आभार व्यक्त गर्न चाहन्छु र तत्कालीन प्रधानमन्त्री कमरेड के।पी शर्मा ओली र अर्थमन्त्रीलाई विशेष धन्यवाद दिन चाहन्छु ।

त्यसपछि लगत्तै नेपालमा ठूलो राजनीतिक परिवर्तन भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलको नयाँ गठबंधन सरकार स्थापित भयो । मेरो उपचारको क्रमलाई गठबन्धनका सबै नेताहरु र प्रधानमन्त्री शेरबहादुर देउवाले सहयोगलाई जारी राख्ने निर्णय गर्नुभयो । त्यसका लागि क. माधवकुमार नेपाल लगायत गठबन्धनका सबै आदरणीय नेताहरु र प्रधानमन्त्री शेरबहादुर देउवा प्रति पनि म हार्दिक आभार व्यक्त गर्दै धन्यबाद दिन चाहन्छु ।

म सँगसँगै एपोलो हस्पिटल पुगेर मेरो उपचारमा विशेष सहयोग गर्नुहुने डा. लार्केल लामालाई पनि बिशेष धन्यवाद दिन चाहन्छु ।

एपोलो हस्पिटलमा भर्ना भएपछि उक्त हस्पिटलका वरिष्ठ डाक्टरहरूको टिमले मलाई तुरुन्त डायलासिसमा राख्यो र सघन उपचार सुरु गर्‍यो । त्यसक्रममा उक्त टिमले मलाई मेरो मिर्गौला प्रत्यारोपण नगरी नहुने कुरा प्रष्ट पार्‍यो । त्यसपछि म हस्पिटलबाटै डोनरको खोजीमा लागे । त्यो खोजी भइरहेको बेला मेरै आफन्त दिदिको छोरीले आफू आफ्नो सानो बालाई एउटा मिर्गौला दिन तयार रहेको खबर गरिन् ।

यो खबर मेरा निम्ति सबैभन्दा महत्वपूर्ण खबर थियो । छोरी मेरिना चित्रकारलाई मैले एपोलो हस्पिटलमा नै बोलाए । उनको स्वास्थ्य परीक्षण भयो । हरेक प्रकारले मलाई म्याचिङ हुने प्रमाणित भयो । त्यस पछि  प्रोफेसर डा. वरिष्ठ सर्जन संजीव गुलेरियाले मेरो अप्रेसन गर्नुभयो ।

मिर्गौला प्रत्यारोपणको त्यो अप्रेसन सय प्रतिशत सफल भयो र मैले नयाँ जीवन प्राप्त गरे । अहिले म पहिले भन्दा राम्रो र ताजा महसुस गरिरहेको छु । मलाई त्यस्तो संकटको घडीमा आफ्नो एउटा मिर्गौला दिएर मलाई बचाउने मेरी प्यारी छोरी मेरिना चित्रकार प्रति सदा सदाका लागि आभार व्यक्त गर्न चाहन्छु ।उनको स्वास्थ्यको उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु । साथै एपोलो हस्पिटलमा मेरो उपचारमा खटिने वरिष्ठ डाक्टरहरू मेरो उपचारमा खटिने डा. अखिल मिश्र, डा. संजिव गुलेरिया,डा.जे.एम दुवा, डा. गौरब सागर र डा. अंशुमान अग्रवाल लगायतका टिमलाई म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यसरी नै मेरो स्वास्थ्य सेवामा खट्ने सबै सिस्टरहरु र हस्पिटल प्रशासनलाई पनि धन्यवाद दिन चाहन्छु ।

साथै मेरो स्वास्थ्यको बारेमा चासो राख्ने तथा स्वास्थ्य लाभको कामना गर्नुहुने पार्टीका आदरणीय नेताहरु, कार्यकर्ताहरु, मिडियाकर्मीहरु, समर्थक र शुभेच्छुकहरु, मेरा आफन्तहरु र म प्रति चिन्ता र सुवेक्षा व्यक्त गर्ने इलामका सबै कमरेडहरु र सबै दाजुभाइ दिदीबहिनीहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । मलाई निकै समय अघि देखि नै मेरो स्वास्थ्यका बारेमा गाईड गर्नुहुने डा। ऋषि काफ्ले प्रति पनि आभार व्यक्त गर्न चाहन्छु ।

अन्त्यमा, मैले यो पछिल्लो सर्जरीपछि बिल्कुलै नयाँ जीवन प्राप्त गरेको महसुस गरेको छु । मेरो यो नयाँ जीवन मैले बोनसमा प्राप्त गरेको नाफाको जीवन बनेको छ । अब मेरो यो बाँकी जीवन देश, जनता, मुलुकको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा,राष्ट्रको एकता, सहि वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनको नयाँ स्तरको एकता, दिगो शान्ति र नेपाली मोडेलको समाजवाद प्रति प्रतिबद्ध रहने छ ।

झलनाथ खनाल
संस्थापक नेता, नेकपा (एकीकृत समाजवादी)

मितिः १४, भदौ २०७८

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *