कति स्वास्थ्यकर्मीले कहाँ कसरी काम गर्दैछन् ? खोजी गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना कर्मचारी को कहाँ कसरी काम गरेको छ भन्ने विषयमा खोजी गर्न थालेको छ । मन्त्रालयले जनसंख्या व्यवस्थापन महाशाखाका प्रमुख इन्द्रमणि शर्माको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरि कर्मचारीको दरबन्दी तथा व्यवस्थापनको विषयमा खोजी सुरु गरेको हो ।

एक साता अघि गठित सो  समितिमा उपसचिव भानुभक्त न्यौपाने र शाखा अधिकृत दीपक रिजाल सदस्य छन् । सो समितिलाई स्वास्थ्यमा कति दरबन्दी छन् ? त्यसमध्ये कति करारमा ? कति स्थायी ? कति काजमा र कहाँ कहाँ ? काजमा ल्याउनुपर्ने अवस्था हो कि होइन ? आदिका विषयमा विस्तृत अध्ययन गरी महिना दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

स्वास्थ्यकर्मीहरु समायोजन पुरा नहुँदै कोभिड महामारीले छोपेपछि स्वास्थ्यले आफ्ना कर्मचारी व्यवस्थापन गर्न सकेको छैन् । यहि मौका छोपी कतिपयले पहुँचवालाले अनावश्यक रुपमा काजमा सुगम ठाँउ रोज्ने गरेका छन् ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख शैलजा रेग्मीले भनिन्, ‘स्वास्थ्यकर्मीहरु कहाँ कहाँ कुन अवस्थामा काम गर्दै हुनुहुन्छ ? स्थायी, अस्थायी, करार, काज कहाँ कसरी खटिनु भएको छ ? त्यसको खोजी गर्न खोजेका हौँ । सहसचिव पोखरेलको संयोजकत्वमा समिति गठन भएको छ । त्यसले एक महिनामा प्रतिवेदन दिएपछि हामीले स्वास्थ्यकर्मीहरुको व्यवस्थापनको कार्यलाई व्यवस्थित रुपमा अघि बढाउनेछौँ ।’

उनले सो प्रतिवेदनले कहाँ स्वास्थ्यका कर्मचारी अभाव र कहाँ कर्मचारी बढी भएको रहेछ भनेर समेत बताउने जानकारी दिईन ।

लामो समय देखि अल्झिएको स्वास्थ्यकर्मीको समायोजन पुरा हुन नपाउँदै कोभिड महामारीले छेक्दा त्यसको असर अहिले पनि कतिपय स्थानीय तहमा देखिएको छ ।

पहुँचवालाले अनावश्यक ठाँउमा काजमा सुगम ठाउँ रोज्दा कतिपय ठाँउमा अनावश्यक रुपमा अस्थायी तथा करारमा स्वास्थ्यकर्मी भर्ना गरि सेवा दिन परेको अवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *